लकडाउन बिर्साउने दृश्य

जम्बो टोली लिएर हिँड्छन् मन्त्री
सोमवार वीरेन्द्रनगरको हटियास्थित खाद्य पसलमा लागेको भिड ।

वीरेन्द्रनगर बजारमा खाद्य तथा दैनिक उपभोग्य वस्तुका पसल हप्ताको तीन दिन खुल्छन् । यी पसलमा सोमवार, बुधवार र शुक्रवार बिहान (७–९) दुई घण्टा सामान किनमेल गर्नेको भिड लाग्छ । खाद्य पसलहरूमा देखिने उपभोक्ताहरूको भिडले लकडाउनलाई गिज्याइरहेको भान हुन्छ । सम्भावित जोखिम न्यूनीकरण गर्न गरिएको लकडाउन नै बिर्साउने दृश्यहरू बजारमा देखिन थालेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले उद्योग वाणिज्य संघको समन्वयमा सातामा तीन दिन बिहान दुई घण्टा दैनिक उपभोग्य पसल खुलाउने निर्णय गरेको हो । यस्ता पसल र उपभोक्तालाई सावधानी अपनाएर मात्रै खरिद–बिक्री गर्न भनिएको छ । तर, न बिक्री गर्ने व्यापारीले सावधानी अपनाएको देखिन्छ न त खरिद गर्ने उपभोक्ताले नै । क्रेता–बिक्रेता दुवैले मास्कको प्रयोग, एक व्यक्ति र अर्को व्यक्तिबीचको दूरीलगायतका सावधानी अपनाउने गरेका छैनन् ।

दैनिक बिहान खुल्ने तरकारी पसल र दिउँसो पाँच घण्टाका लागि बिक्री वितरण खुला गरिएका हार्डवयर पसलमा पनि किनमेल गर्नेको त्यस्तै घुइँचो लाग्छ । उस्तै असावधानी देखिन्छ । कसैले पनि सतर्कता र संवेदनीशलता अपनाएको पाइँदैन । बजारमा भिड देखिन थालेपछि स्थानीयले जिल्ला प्रशासन र उद्योग वाणिज्य संघले बजार व्यवस्थापनमा वास्ता नगरेको गुनासो गरेका छन् ।

पसलहरू अव्यवस्थित रूपमा सञ्चालन भइरहे पनि जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र उद्योग वाणिज्य संघले चासो दिएका छैनन् । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले हप्तामा तीन दिन मात्रै केही समयका लागि पसल खुल्ने भएकाले ग्राहकको भिड हुने गरेको बताए । ‘हामीले सावधानी अपनाएर मात्रै व्यापार गर्न व्यवसायीहरूलाई अनुरोध गरेका छौं,’ उनले भने, ‘कतिपय व्यवसायीबाट पनि अटेरी भएको छ ।’ उनका अनुसार संघले लकडाउनको सुरुमै व्यवसायीहरूलाई सतर्क भएर सामान बेच्न भनेको थियो । ग्राहकको भिड एकैचोटी लाग्ने र व्यवसायीले पनि हेलचक्य्राइँ गर्दा समस्या देखिएको हो । संघको कार्यसमितिले वीरेन्द्रनगरका १६ वटै वडामा पुगेर खाद्य तथा अत्यावश्यक किराना पसलहरूलाई सावधानी अपनाउन अनुरोध गरेको अध्यक्ष रावतले बताए ।

सामान किनबेच गर्दा व्यक्तिहरूबीचको दूरी कायम गर्ने, पसल अगाडि एक मिटरको फरकमा सर्कल बनाउने, डोरी लगाउने र बिक्रेतालाई अनिवार्य मास्क, पन्जा तथा सेनिटाइजरको प्रयोग गरेर मात्रै सामान बिक्री गर्न बारम्बार भन्ने गरिएको संघले जनाएको छ । संघले अत्यावश्यक खाद्य सामग्री ग्राहकको घरमै पु¥याउने गरी डेलिभरी सेवा सुरु गरे पनि प्रभावकारी नदेखिएपछि अहिले बन्द गरेकोे छ ।

 

भिडभाडले कोभिड–१९ संक्रमण फैलने खतरा उच्च हुने भन्दै सरकारले झन्डै दुई महिनादेखि लकडाउन जारी राखेको छ । जेठ २० गतेसम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरिसकेको छ । अत्यावश्यक बाहेक घरबाट ननिस्कन भनिए पनि लकडाउनको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन । प्रहरीको आँखा छल्दै बजारदेखि चिया चौतारोसम्म मान्छे जम्मा हुने क्रम रोकिएको छैन । लकडाउनको अवज्ञा गर्दै सवारी साधन चलाउनेको संख्या पनि अधिक छ । यो अवधिमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले साना–ठूला गरी सात सय बढी सवारी साधन नियन्त्रणमा लिएर चालकलाई कारबाही गरिसकेको छ ।

जिल्ला प्रवेश गर्ने सीमा नाकामा कडाइ गरेको बताउँदै आएको प्रशासन कार्यालयले बजारमा देखिने भीडहलाई भने नियन्त्रण गर्नेतर्फ कदम चालेको देखिँदैन । सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले प्रशासनले कडाइ गर्दैमा मात्रै लकडाउन कार्यान्वयन प्रभावकारी नहुने बताए । ‘प्रशासनले लकडाउनमा कडाइ गरिरहेकै छ । यो सबैले सावधानी उपनाउने बेला हो,’ उनी भन्छन्, ‘कसैले पनि लापरवाही गर्नु भएन ।’ बजार व्यवस्थित गर्ने सन्दर्भमा उद्योग वाणिज्य संघसँग सहकार्य भइहेको उनले बताए । प्रजिअ न्यौपानेले पसल सञ्चालनका लागि कार्यतालिका बनाइएकाले व्यापारी र ग्राहकले सोही अनुसार सावधानी अपनाएर खरिद–बिक्री गर्नुपर्ने जनाए । जिल्लाभित्र तथा बाहिरका लागि अतिआवश्यक काममा मात्रै प्रशासनले सवारी सञ्चालनका लागि अनुमति दिने गरिएको उनले बताए । लकडाउन कार्यान्वयमा कुनै एक निकायले गरेर मात्रै नहुँने भन्दै उनले जिल्लालाई कोरोना जोखिममुक्त बनाउन सबै क्षेत्रको सहयोग उत्तिकै आवश्यक रहेको औंल्याए ।


जम्बो टोली लिएर हिँड्छन् मन्त्री

लकडाउन प्रभावकारी भए/नभएको अनुगमन गर्ने निकायबाटै अवज्ञा हुने गरेको छ । आइतबार कर्णाली प्रदेश सरकारका दुई मन्त्रीसहित जम्बो टोलीले लकडाउनको अनुगमन गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावलसँगै सुर्खेतस्थित सुरक्षा निकाय र स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले लकडाउनको अनुगमन गरेका थिए । अनुगमनका लागि सुर्खेतको छिन्चु पुगेका उनीहरूसँगै दर्जनौंको भिड लागेको थियो ।
अघिल्लो साता मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री रावल अनुगमनकै क्रममा जुम्ला पुगे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन पछि त्यहाँ आयोजित भेलालाई दुवै जनाले सम्बोधन गरे । प्रतिष्ठानको हलमा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्थानीय गरी झन्डै दुई सयको हाराहारीमा भेला भएका थिए । लकडाउन र स्वास्थ्य संस्थाको अनुगमनमा निस्किएका उनीहरूले हलमा खचाखच सहभागीहरूको भिडलाई सम्बोधन गर्दा भिडभाड गर्नुहुन्न भन्ने बिर्सिए ।

यी केही प्रतिनिधि उदाहरण हुन् । लकडाउन कार्यान्वयन गर्नुपर्ने निकायले नै अवज्ञा गरेका थुप्रै घटना छन् । प्रदेश सरकारका मन्त्रीहरू जम्बो टोलीसहित अनुगमनका निस्कने गरेका हुन् । दैनिकजसो गरिने यस्ता प्रदर्शनमुखी अनुगमनले सरकारलाई आर्थिक भार बढ्नुका साथै लकडाउनकै अवज्ञासमेत हुने गरेको छ । कोरोना परीक्षणका क्रममा पनि हेलचक्य्राइँ हुने गरेको छ । स्वाब सङ्कलन तथा परीक्षणका क्रममा स्वास्थ्यकर्मीहरूले नै सुरक्षा सावधानी अपनाएको पाइँदैन ।

प्रकाशित मितिः   ६ जेष्ठ २०७७, मंगलवार ०८:३३