बढ्दैछ अपराधको ग्राफ
सिङ्गो मुलुक लकडाउनमा छ । यो समयमा अत्यावश्यक कामबाहेक नागरिकलाई घरबाहिर निस्कन पनि मनाही छ । तर यही विषम् परिस्थितिकाबीच कर्णाली प्रदेशमा भने अपराधका श्रृङ्खला बढिरहेको पाइएको छ । दिन प्रतिदिन बढ्दै गइरहेको कोरोना संक्रमणको गतिजस्तै अपराधको ग्राफ पनि उकालो लागेको छ ।
प्रदेशका प्रहरी कार्यालयहरूमा हरेक दिनजसो साना तथा ठूला अपराधका घटना दर्ता भइरहेका छन् । डरलाग्दो दृश्य त के छ भने सबैभन्दा बढी आत्महत्याका घटना भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सामान्य अवस्थाभन्दा लकडाउनको समयमा आत्महत्याका घटना बढेका हुन् ।
लकडाउन भएको झण्डै दुई महिनाको अवधिमा कर्णालीमा ४२ जनाले आत्महत्या गरेका छन् । गत चैत ११ देखि जेठ ४ गतेसम्म ३४ जनाले झुण्डिएर र आठ जनाले बिष सेवन गरी आत्महत्या गरेका हुन् । प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक लोकनाथ तिमिल्सिनाले यो अवधिमा आत्महत्याको दर बढेको बताए । प्रदेशका दश जिल्लामध्ये सबैभन्दा बढी आत्महत्याका घटना सुर्खेतमा भएका छन् । सुर्खेतमा आत्महत्याका १७ घटना भएका हुन् । जसमध्ये १३ जनाले झुण्डिएर र चार जनाले बिष सेवन गरी आत्महत्या गरेका छन् ।
त्यस्तै सल्यानमा सात जनाले झुण्डिएर र चार जनाले बिष सेवन गरी आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दैलेखमा आठ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । रुकुम–पश्चिममा चार, जुम्लामा र डोल्पामा एक–एक जनाले झुण्डिएर आत्महत्या गरेका हुन् । आत्महत्या मात्रै होइन अन्य अपराधका घटना पनि बढ्दो क्रममै छन् । लकडाउनको समयमा अन्य जघन्य अपराधका घटना पनि बढेको प्रहरी नायव निरीक्षक तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार यो अवधिमा जबरजस्ती करणीका १७ वटा घटना प्रहरीसम्म आइपुगेका छन् । यी प्रहरीसम्म आइपुगेका घटना मात्रै हुन् । प्रहरीमा नआएका थप घटना पनि हुनसक्ने बताइन्छ ।
यस्तै यही अवधिमा कर्तव्य ज्यानका तीन वटा घटना भएका छन् । भवितव्य ज्यानका १४ घटना, ज्यान मार्ने उद्योगका पाँच, घरेलु हिंसाका १६, लागूऔषधका चार र सार्वजनिक शान्तिविरुद्धको कसुरका दश घटना भएको तिमिल्सिनाले बताए । ‘लकडाउनको यो अवधिसम्म हेर्दा तुलनात्मक रूपमा अघिल्ला वर्षहरूभन्दा अपराधिक घटनाहरू बढेका छन्,’ उनले भने । प्रहरी जनशक्ति लकडाउन प्रभावकारी बनाउन लागेकाले यही मौकामा जघन्य प्रकृतिका घटना बढेको हुनसक्ने उनको भनाइ छ । तिमिल्सेना अनुसार लकडाउनको यो अवधिमा प्रदेशभर विभिन्न प्रकृतिका गरी एक सय ३५ अपराधका घटना भएका छन् ।
प्रकाशित मितिः ६ जेष्ठ २०७७, मंगलवार ०८:४४
साझा बिसौनी ।