दुई अर्बको टेण्डर रद्द

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना अन्तर्गतका संरचना निर्माणको दुई अर्बको टेण्डर रद्द भएको छ । दोस्रो चरणको हाइड्रो मेकानिकल अन्तर्गत गेट तथा पेन स्टक पाइप निर्माण कार्यका लागि गरिएको टेण्डर रद्द भएको हो । जलस्रोत तथा सिंचाई विभागले वैशाख ३० गते टेण्डर रद्द गरेको हो । विभागले कोरोना असरका कारण निर्माण कम्पनीहरूको प्रतिस्पर्धा नदेखिएकाले टेण्डर रद्द गर्नुपरेको जनाएको छ ।

आयोजनाका सूचना अधिकारी कृष्ण उपाध्यायका अनुसार उक्त कार्यका लागि विभागमा दुई अर्बको अनुमानित लागत प्रस्ताव पेश गरिएको थियो । सुरुङ निर्माणको काम तोकिएको समय अगावै सम्पन्न भएपछि गत साउनदेखि आयोजनाको दोस्रो चरणका कामहरू सुरु गरिएको थियो । दोस्रो चरण अन्तर्गत हेडवर्कस, सर्जसाफ्ट, पेनस्टकलगायतको सिभिल निर्माण र पावर हाउस निर्माणका कार्यहरू छन् ।

चार वर्षमा सम्पन्न गर्ने गरी आयोजनाको काम अघि बढाइएको भए पनि टेण्डर रद्द भएपछि आयोजनाको काम लम्बिने भएको छ । बाँध स्थलमा पुलसहितको ६ वटा गेट र पेनस्टक पाइप निर्माणका लागि गरिएको टेण्डर रद्द भएपछि पुनः लागत मूल्याङ्कन गरेर टेण्डर गर्न समय लाग्ने भएको हो । ‘हामीले एक वर्षसम्म गरेको मेहनत त्यसै खेर गएको छ,’ सूचना अधिकारी उपाध्यायले भने, ‘यसले गर्दा आयोजनाको समयावधि पनि लम्बिने देखिएको छ ।’

आयोजनाका अनुसार हाइड्रो मेकानिकल निर्माण अन्तर्गत गेट तथा पेन स्टक पाइपको काम पर्दछ । बाँध बनाइसकेपछि नदीको पानी खोल्न र बन्द गर्न गेटको प्रयोग हुन्छ । सुरुङभित्र पानी पठाउने कार्यका लागि समेत गेटहरूको आवश्यकता पर्दछ । सुरुङबाट बाहिर निस्केको पानी फलामको पाइप (जसलाई पेन स्टक पाइप भनिन्छ) मार्फत पावर हाउससम्म लगेर टर्वाइनमार्फत बिजुली निकालिन्छ । सो कार्यको बोलपत्र आह्वान गरिएको थियो । सार्वजनिक खरिद ऐनको भावनानुसारको प्रतिस्पर्धा हुन नसकेका कारण विभागले बोलपत्र रद्द गरेको हो ।

३३ अर्ब १९ करोड लागतको उक्त बहुउद्देश्यीय आयोजनाको हालसम्म ३९ दशमलव ४ प्रतिशत भौतिक प्रगति र ३१ दशमलव ६० प्रतिशत वित्तीय प्रगति भएको छ । अहिले आयोजनामा सीमित जनशक्तिमार्फत यस आर्थिक वर्षमा सक्नुपर्ने कामहरू भइरहेको जनाइएको छ ।

प्रकाशित मितिः   ५ जेष्ठ २०७७, सोमबार ०७:३५