लकडाउनमा थप कडाइ

सुर्खेतमा लकडाउनलाई थप कडाइ गरिने भएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले झण्डै दुई महिनादेखि जारी राखेको लकडाउनलाई जिल्लामा कडाइका साथ कार्यान्वयन गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतले शनिवारदेखि यसअघि दिइएका सबै सवारी पास रद्द गरेको छ । जिल्लाभित्र र बाहिर आवतजावत गर्न दिइएका सवारी सञ्चालन अनुमति रद्द गरिएको हो ।

संघीय सरकारले जेठ ३ गतेभित्र सबै खाले सवारी पास रद्द गर्न प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको थियो । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले सरकारले दिएको निर्देशन अनुसार जिल्लाभित्र र बाहिर जाने सम्पूर्ण सवारी पास रद्द गरिएको जानकारी दिए । ‘जिल्ला बाहिर र भित्र आवतजावत गर्ने सबै खाले सवारी पास रद्द गरिएको छ,’ उनले भने, ‘जिल्लाभित्रको लागि भने अवस्था हेरेर अत्यावश्यक सवारी साधनलाई मात्र पास दिइनेछ । जिल्ला बाहिरका लागि पास दिइने छैन ।’

प्रशासन कार्यालयले जिल्लाका सीमा नाकाहरूमा पनि कडाइ गरेको छ । छिमेकी जिल्ला प्रदेश नंंं. ५ को बाँके, बर्दिया र सुदूरपश्चिम प्रदेशको कैलालीमा कोरोना संक्रमण देखिएपछि जिल्ला भित्रिने सीमा नाकामा उच्च सतर्कता अपनाइएको हो । जिल्लाको मुख्य प्रवेशद्वार बबई नाकामा कडाइ गरिएको छ । लकडाउनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी, स्थानीय तह र जिल्लास्थित अन्य सरोकारवालाहरूसँग समन्वय गरिएको प्रशासन कार्यालयले जनाएको छ । एम्बुलेन्स, स्वास्थ्यकर्मी र पत्रकारलाई परिचय–पत्रका आधारमा मात्र आवतजावत गर्न दिइने उनले बताए ।

जिल्लामा खाद्य पसल हप्तामा तीन दिन सोमवार, बुधवार र शुक्रवार बिहान ७ बजेदेखि ९ बजेसम्म र तरकारी पसल दैनिक बिहान ७ देखि ९ बजेसम्म खुल्ने व्ययवस्था रहँदै आएको छ । निर्माण सामग्रीका पसल दिउँसोको समयमा खुल्ने व्यवस्था गरिएको छ । शनिवार बाहेक बिहान ११ बजेदेखि ४ बजेसम्म खुल्दै आएका निर्माण सामग्रीका पसलहरूमा बढी भिडभाड हुने अवस्था आए निर्णय परिवर्तन गर्न सकिने प्रशासनले जनाएको छ । लकडाउनलाई कडाइ गर्न जिल्लाभर ६ सय ३५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मितिः   ४ जेष्ठ २०७७, आईतवार ०७:४२