दश महिनामा १५ प्रतिशत खर्च

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको दश महिनामा १५ प्रतिशत बजेट खर्च गरेको छ । सरकारले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रूपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये पाँच अर्ब २८ करोड ६१ लाख ८९ हजार चार सय ७९ रूपैयाँ खर्च गरेको छ । पूँजीगततर्फ दुई अर्ब २५ करोड ५४ लाख आठ हजार आठ सय ३३ रूपैयाँ र चालुतर्फ तीन अर्ब ३० करोड ७८ लाख ६ सय ४६ रूपैयाँ खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्म पूूँजीगततर्फ १० दशमलव ५९ र चालुतर्फ २३ दशमलव २१ प्रतिशत बजेट खर्च भएको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ४१ दशमलव ६५ प्रतिशत, सामाजिक विकास मन्त्रालयले २९ दशमलव १८ प्रतिशत, भौतिक पूूर्वाधार विकास मन्त्रालयले १४ दशमलव ५० प्रतिशत र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १५ प्रतिशत बजेट खर्च गरेका छन् ।

यस्तै यो अवधिमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १७ दशमलव १७ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयको शून्य दशमलव ८१ प्रतिशत र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ३ दशमलव १५ प्रतिशत बजेट खर्च भएको छ । यो वर्ष कोरोना प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा केन्द्रित हुनुपर्दा बजेट खर्च बढाउन नसकिएको सरकारले जनाएको छ ।

पहिलो चौमासिकमा १ दशमलव ६१ प्रतिशत र दोस्रो चौमासिकमा १० दशमलव ८ प्रतिशत बजेट खर्च भएको थियो । अन्तिम चौमासिकसम्म खर्च ६० प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको छ । चालु आव सकिनै लाग्दासम्म न्यून बजेट मात्रै खर्च गरेको सरकारले बाँकी दुई महिनामा लक्ष्यअनुसार खर्च गर्न सफल हुने देखिएको छैन । लकडाउनका कारण विगत दुई महिनादेखि विकास निर्माणका काम ठप्प छन् ।

प्रकाशित मितिः   ४ जेष्ठ २०७७, आईतवार ०७:४०