सुर्खेतमा पर्यटन कार्यालय स्थापना गर्ने मन्त्रीको घोषणा

jiwanbahadur_shahi-1साझा बिसौनी संवाददाता
सुर्खेत, २७ भदौ ।
अब सुर्खेतमा पनि पर्यटन कार्यालय स्थापना हुने भएको छ । प्रदेश नम्बर ६ अन्तर्गत अहिले कुनै पनि जिल्लामा पर्यटन कार्यालय छैनन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले तत्काल सुर्खेतमा पर्यटन कार्यालय स्थापना गर्ने बचन दिएका हुन् ।
गृह जिल्ला हुम्ला जाने क्रममा सोमवार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री शाहीले यस्तो जानकारी दिएका हुन् । यो क्षेत्रमा पर्यटनको ठूलो सम्भावना रहेको भन्दै उनले केही समयमा नै सुर्खेतमा पर्यटन कार्यालय स्थापनाको गृहकार्य भइरहेको जानकारी दिए । कार्यालय स्थापना भएमा यस क्षेत्रको पर्यटन विकासले फड्को मार्ने उनको दाबी छ । साथै उनले अबको तीन महिनाभित्रमा कालिकोटको कोटबाडा विमानस्थलको निर्माण कार्य सम्पन्न हुने बताए । त्यसका लागि प्रक्रिया अगाडि बढीसकेको उनको भनाइ छ ।
नेपालमा अहिले जहाजको कमी रहेको भन्दै उनले कम्तीमा पनि १६–१७ वटा जहाज आवश्यक रहेको उल्लेख गरे । उनले भने, ‘सरकारले २ वटा बोइङ जहाज किन्ने तयारी गरिरहेको छ, अब हरेक प्रदेशमा सरकारी स्वामित्वको वायु सेवाले जनतालाई सुविधा प्रदान गर्नेछ ।’ हुम्लाका सांसदसमेत रहेका मन्त्री शाहीले कर्णालीमा जन्म र मृत्यु हुँदा चामल दिने प्रधानमन्त्रीको घोषणाप्रति असन्तुष्टी जनाएका छन् । कर्णालीको प्रतिनिधित्व गर्ने आफू एक मात्र क्याबिनेट मन्त्री भए पनि प्रधानमन्त्रीले कुनै सल्लाह नगरेर कर्णालीवासीलाई २० किलो चामल दिने घोषणा गरेको उनको भनाइ छ । संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गत बिहीवार कर्णालीका जिल्लामा जन्म र मृत्युमा निःशुल्क २० किलो चामल दिने घोषणा गरेका थिए । उक्त घोषणा आफूहरूसँग सल्लाह नै नगरी प्रधानमन्त्रीले घोषणा गर्दा समस्या उत्पन्न भएको मन्त्री शाहीले बताए ।
मन्त्री शाहीले भने, ‘कर्णालीबाट क्याबिनेटमा म एक जना मात्र मन्त्री छु, तर कर्णालीमा चामल दिने कुरा मलाई नै थाहा भएन । मसँग परामर्श गरेको भए, म यो भन्दा राम्रो उपाय दिन्थें ।’ ‘संसदमा सम्बोधन गरेपछि मात्र मैले थाहा पाएँ, मैले प्रधानमन्त्रीलाई भेटेर यो विषय अवगत गराइसकेको छु’ पर्यटनमन्त्री शाहीले थपे, ‘कर्णालीको पीडा अर्कै छ, प्रधानमन्त्रीको चामल बाँड्ने घोषणाले मात्र कर्णालीको खाद्यान्न सङ्कट समाधान हुँदैन ।’ चामल दिने घोषणाको कर्णालीबासीले चर्को विरोध गरिरहेका छन् ।

प्रकाशित मितिः   २८ भाद्र २०७३, मंगलवार ११:५६