अवैध ‘सुमो चामल’ बरामद
साझा बिसौनी संवाददाता
छिन्चु (सुर्खेत), २७ भदौ ।
जिल्ला बजार अनुगमन समितिले छिन्चुबाट दुई सय ५० बोरा अवैध सोमो मनसुन चामल बरामद गरेको छ । जिल्ला प्रसाशन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत एवम् सहायक प्रमुख जिल्ला अधिकारी गगांप्रसाद न्यौपाने नेतृत्वको टोलीले छिन्चु र रामघाट बजार अनुगमनका क्रममा उक्त चामल बरामद गरेको हो ।
उपभोक्ताले दैनिक जीवनमा उपभोग गर्दै आएका खाद्य सामग्रीमा म्याद नाघेका पेय पदार्थ, कुरमुरे, दालमोट, मीट मसाला, जीरा, चिजबल, लगायतका सामग्रीमा म्याद नाघेका वस्तु बिक्री वितरण गरिएको पाइएको छ । अधिकांश वस्तुमा मिति सकिएको स्टिकर टाँस भएको भेटिएको छ । त्यस्तै अनुगमनका क्रममा टोलीले छिन्चु बजारमा ठूलो परिणाममा चामलको बोरामा उत्पादन मिति र प्रयोग गर्न मिल्ने मिति नराखिएको ‘सुमो’ मनसुन चामल दुई सय ५० बोरा बढी, सेभेनस्टार तीन सय ७० बोरा त्यसैगरी मिहास चामल दुई बोरा पवन टे«डिङबाट बरामद गरेको छ ।
त्यस्तै बराल इन्टरप्राइजेजमा कलस ब्राण्डको पाँच बोरा, सादा बोरामा राखिएको १० बोरा, गंगोत्री चामल १७ बोरा बरामद गरिएको छ । टोलीमा खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय नेपालगन्जका पूर्णप्रसाद पौडेल, घरेलु तथा साना उद्योग सुर्खेतका पदम ठकुरी, उद्योग वाणिज्य संघ भेरीका अध्यक्ष रत्नबहादुर अधिकारी, उद्योग उपाध्यक्ष मेघराज ढकाल, सचिव सोमराज ढकाल, कोषाध्यक्ष पूर्णबहादुर खत्री, भेरीगंगा नगरपालिका नायव सुब्बा कुलबहादुर खड्का, उपभोक्ता मञ्च नेपालका रामप्रसाद शर्मा लगायतको सहभागिता रहेको थियो ।
अखाद्य वस्तु र म्याद नाघेका वस्तुलाई अनुगमन टोलीले बरामद गरी भेरीगंगा नगरपालिकाको डम्पिङ साइडमा लगेर नष्ट गरिएको थियो । बजार अनुगमनलाई अझै तीव्रता दिने र दशंै तिहारमा अखाद्य वस्तुलाई नियन्त्रणमा लिएर बिक्रेतालाई खाद्य सुरक्षा ऐन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए । अनुगमनका क्रममा मिति नै उल्लेख नगरेर हजारौंको संख्यामा बजारमा बिक्री वितरण हुँदै आइरहेका दैनिक उपभोग्य सामग्री प्रयोग गर्दा उपभोक्ताले विशेष ध्यान दिनुपर्ने भन्दै अनुगमन टोलीले उपभोक्तालाई सदैव सचेत रहन आग्रह समेत गरेको छ ।
साझा बिसौनी संवाददाता ।