पूर्वका पाँच गाविस नटुक्राउन माग

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ भदौ ।
जनसंख्यालाई मात्र आधार बनाएर जिल्लाको संरचना मान्य नहुने भन्दै पूर्वी सुर्खेतको भेरी किनाराका गाउँ विकास समितिहरूका बासिन्दाले असन्तुष्टी व्यक्त गरेका छन् । मगर भाषा संरक्षण समिति दशरपुरले सोमवार दशरथपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले भाषा, रितीरिवाज तथा सामाजिक रहनसहनलाई पनि आधार मान्नुपर्ने भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ सुर्खेतका अध्यक्ष डिलबहादुर वंशीले भाषा, संस्कृति, सांस्कृतिकलाई अहिलेको संरचनाले छिन्न–भिन्न पारेको आरोप लगाए । वंशीले नेटा, साटाखानी, कल्याण, दशरथपुर र लेखफर्सामा सामाजिक सांस्कृतिक एवम् भौगोलिक अवस्थाले पनि एउटै भएका कारण यसलाई विभाजन गर्न नहुने बताए । कार्यक्रममा स्थानीय शान्ति समिति सुर्खेतका संयोजक मोहन थापाले स्थानीय तहको टुङ्गो लगाउनुअघि स्थानीय तहमा व्यापक छलफल गरेर प्रस्तावित गर्नुपर्नेमा केन्द्रको सिफारिसमा पहिलै प्रस्ताव गर्नु लोकतन्त्रको विपरित भएको टिप्पणी गरे ।
लोकतन्त्रमा जनताको मत हुने भन्दै थापाले अहिले संरचनाले स्थानीयहरूको भावना समेट्न नसक्ने र सामाजिक विचलन आउने समेत उनको भनाइ थियो । जनसंख्याको आधारलाई मान्दा हिमाल तथा दुर्गम स्थानहरूको बस्तीमा निकै जटिलता थपिने भन्दै थापाले राज्यले त्यस्ता स्थानहरूमा आफ्नो उपस्थिति अनिवार्य गर्नुपर्ने बताए ।
यस्तै कार्यक्रममा नयाँ शक्ति सुर्खेतका सह–संयोजक यशबहादुर दर्लामीले अहिलेको संरचना जनताको नभइ केही पहुँचवालाहरूको मात्र आवाज भएको बताए । विना परामर्श तथा दलहरूलाई साक्षीको रूपमा मात्रै उपस्थिति गराएको भन्दै दर्लामीले सुर्खेतको पुनर्संरचना प्राधिकरण सुर्खेतले आफ्ना मागहरूलाई सुनुवाइ नगरेका कारण सिधै राज्य पुनर्संरचना आयोगमा यसको ध्यानाकर्षण गराउनुपर्ने बताए ।
साटाखानी गाउँ विकास समितिका तर्फबाट गम्भीरसिं सोमैले सामाजिक रितीरिवाजलाई छिन्नभिन्न गराउन नहुने बताए । उनले स्थानीय तह पुनर्संरचना गर्दा भाषा, क्षेत्र, तथा सेवा प्रवाहमा पायक पर्ने स्थानलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए । कल्याण गाउँ विकास समितिको तर्फबाट देवबहादुर रानाले जनतालाई सुविधायुक्त संरचना गराउनु पर्नेमा जोड दिए । लेखफर्सा गाउँ विकास समितिका तर्फबाट हर्षबहादुर पुनले भाषागत संरचनालाईमध्ये नजर गर्नुपर्नेमा त्यसो नभएकोमा आन्दोलन गर्नपछि नपर्ने समेत बताए । मगर भाषा संरक्षण समिति दशरतपुरका अध्यक्ष जीवेन्द्र विर्कट्टामगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । यसैबीच सोही कार्यक्रममा खड्क घर्तीमगरको संयोजकत्वमा ५१ सदस्यीय स्वायत्त मगर मञ्च सुर्खेत गठन गरेको छ । साटाखानी, कल्याण, दशरथपुर, नेटा, लेखफर्साका ३÷३ जना र अन्य स्थानका गरी ५१ सदस्यीय समितिले मगरहरूको बाहुल्य रहेको स्थानहरूलाई स्वायत्त मगर इलाका, वडा र गाउँ बनाउनुपर्नेमा दबाब दिने सहभागीहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मितिः   २८ भाद्र २०७३, मंगलवार ११:५०