नेपालमा कोरोनाबाट एक जनाको मृत्यु

काठमाडौं : नेपालमा पहिलो पटक कोरोना भाइरस संंक्रमणबाट मृत्यु भएको छ । धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रविसेकी २९ वर्षीया महिलाको मृत्यु कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अबेर साँझ विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो ।

बिहीवार राति मृत्यु भएकी ती महिलामा धुलिखेल अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोभिड–१९ पुष्टि भएको थियो। त्यसपछि उनको मृत्यु कोरोना भाइरस संक्रमणकै कारण या अन्य रोगले भएको हो भन्ने पत्ता लगाउन स्वास्थ्य मन्त्रालयले आज तीन जना चिकित्सकको टोली धुलिखेल अस्पताल पठाएको थियो ।

मन्त्रालयबाट खटिएको डा. दीपेन्द्ररमण सिंह, डा. गुणराज लोहनी र डा. प्रमोद सिंखडाको टोलीले ती महिलाको मृत्यु कोरोना भाइरस संक्रमणकै कारण भएको निश्कर्ष निकालेको हो । गएको २४ वैशाखमा काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी त्यसको भोलिपल्ट डिस्चार्ज भएकी थिइन् ।

त्यसपछि सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-९, राम्चे (घर) गएकी उनमा उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि १ जेठमा बाह्रविसे स्वास्थ्य केन्द्र लगिएको थियो । त्यहाँबाट रेफर गरिएकी उनको १ जेठमै राति ११ बजे धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । यो नेपालमा कोभिड–१९ कारण भएको मृत्युको पहिलो घटना हो ।

प्रकाशित मितिः   ३ जेष्ठ २०७७, शनिबार २१:१७