भारतबाट फर्केकालाई प्रदेश भित्र्याइँदै

रोजगारीका लागि भारतमा रहेका कर्णालीवासी लकडाउनकैबीच प्रदेश भित्रिन थालेका छन् । भारतले रेलसेवा सञ्चालन गरेसँगै कामका लागि भारत गएकाहरू घर फर्कन सुरु भएको हो । बिहीवार पहिलो चरणमा बाँकेको रूपैडिया नाकाबाट कर्णालीका दुई सय ३६ जना प्रवेश गरेका छन् ।

दैलेखका ९७, सुर्खेतका ४४, जुम्लाका २८, कालिकोटका २६, रूकुमपश्चिमका १९, जाजरकोटका १४, सल्यानका ७ र मुगुका एक व्यक्ति रूपैडिया नाकाबाट प्रवेश गरेका हुन् । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार उनीहरूलाई आरडीटी परीक्षण गरेर कर्णालीमा पठाउने तयारी गरिएको छ ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले प्रदेशको सीमा नाकामा क्वारेन्टाइन नभएकाले भारतबाट फर्किएका नागरिकलाई कोरोना परीक्षण पछि सम्बन्धित स्थानीय तहमा पठाउन लागिएको बताए । ‘उहाँहरूलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर पठाउने तयारी गरेका छौं,’ उनले भने, ‘स्थानीय तहमा रहेका क्वारेन्टाइनमा बसेपछि मात्रै घर पठाइने छ ।’

प्रदेशका नागरिक फर्कन थालेपछि कर्णालीमा भित्रिने जोखिम र त्यसको व्यवस्थापनबारे छलफल गर्न शुक्रवार बिहान मुख्यमन्त्रीसहित, सुरक्षा निकाय, स्थानीय प्रशासन र स्वास्थ्य निकायका प्रमुखहरूको संयुक्त बैठक बसेको छ । बैठकले नाकासम्म आइपुगेका कर्णालीबासीको संख्या सङ्कलन गरी सुरक्षित रूपमा भित्र्याउने निर्णय गरेको मन्त्री भण्डारीले जानकारी दिए । उनका अनुसार प्रदेश प्रवेश गर्ने प्रमुख नाका सुर्खेतको बबईमा आइसोलेसन कक्ष र रिसेप्सन गृह बनाउने तयारी थालेको छ ।

प्रकाशित मितिः   ३ जेष्ठ २०७७, शनिबार ११:४६