सम्झनाको तरेलीमा मेरो गाउँ

 

 

यमुना थापा

 

हेर्दाहेर्दै नयाँ वर्ष आयो । गएको वर्षको अन्तिम महिनादेखि घरको कोठामा बन्द भएका हामी कोठामा नै छौं तर नयाँ वर्ष त नयाँ वर्ष नै हो । अझ यो वर्षको नयाँ वर्ष अलि फरक छ । मान्छेहरूसँग धेरै अपेक्षा छन्, आशा छन् । खै थाहा छैन पूरा हुन्छन् कि हँुदैनन् ?

नयाँ वर्षमा आमाले फोन गर्नु भयो । आमासँगै बाबा, भाइ, बहिनीसँग पनि कुरा भयो । गाउँको माया आफ्नाको माया मनभरि उर्लेर आयो । आखाँ रसाए । सम्झनामा एकाएक गाउँ लटरम्म छायो, रुखमा आँप फलेको जस्तै ।

सम्झनाले पखेटा हालेपछि बन्द कोठाबाट मन बाहिर निस्कियो । र उड्यो भुरुरु गाउँतिर । गयो यो सानो कोठाबाट गाउँ घुम्न । वनभरि काफल टिप्दै, कोइलीका भाकामा भाका मिलाउँदै हिँड्यो मन । खोलाको किनार बसेर खोलाबाट एक अञ्जुली पानी निकालेर पानीको तिर्खा मेट्यो अनि फेरि, खेतबारितिर लगायो एक नजर ।

मनले डुलेको गाउँ उस्तै थियो पहिला जस्तै, मान्छेहरू कहाँ सहरको जस्तो लकडाउनमा थिए र ! उनीहरूको आफ्नै लय थियो कामको, चौतारीमा उसैगरी भारी बिसाइरहेका थिए बटुवाहरू, पसिना उस्तै थियो ।

चौतारीमा गाइने भाका उस्तै थिए । सबै–सबै उस्तै थियो । त्यहाँ न सरकारको लकडाउन थियो न प्रहरीको लाठी, केही थिएन । लकडाउन त सहरमा रहेछ । अनि लकडाउनमा त म पो रै’छु । चौतारीका बटुवाका बात उस्तै थिए, दुःखमा पनि मिठास भरिएका, आशा र हौसलाका उही एक छाक टार्न पाए सबैथोक पूरा भए जस्तो उनीहरूलाई । जति कमाए पनि नपुग्ने त सहरमा रहेछ ।

गाउँको गति उही थियो, छुटेकी त म पो रै’छु । मेरो आँगनबाट पर देखिने त्यो क्षितिज जसलाई भेटेर म आकाश छुने वाचा गर्थेँ, मेरो गुडिया जसको बिहे गरेर राम्रो घर बनाइदिने कसम खान्थेँ ती सब छुटे । साथीसङ्गी छुटे, पुतलीको पछि भाग्ने दिन छुटे, बाख्रा चराउने वन छुट्यो, भारी बिसाएर पानी खाने त्यो धारो छुट्यो, पौडी खेल्ने खोला छुट्यो । । भाइबहिनीसँगको मस्ती छुट्यो । दुःखका रमाइला दिन छुटे । के के छुटे छुटे । छुटेका कुरा औंला भाँचेरै सकिँदैनन् । साँच्चै सबैभन्दा बढी त याद छुटे ।

आज ती सबै कुरा एकाएक ताजा भएर आएका छन् । त्यो घाम पनि कति प्यारो, त्यो हावा कति मिठो, ती गुराँस कति सुन्दर साँच्चै यादमा लहरमा सबै सबै साह्रै सुन्दर छन् गाउँका ।

म आफू सहरको ठूलो घरको सानो कोठामा छु । साँच्चै नयाँ वर्षले धेरै कुरा याद दिलाइदियो । सहरदेखि गाउँसम्म पु¥यायो । गाउँका स्मृतिलाई ताजा बनाइदियो । यस्तै सोच्दै घरी तल गर्छु घरी माथि गर्छु । घरी वल्लो कोठा पल्लो कोठा, कतिबेला मन साह्रै छट्पटिन्छ । किताब हातमा राखेर मनलाई शान्त पार्न खोज्छु एकछिन मोबाइल हेर्छु यस्तै गरी बित्दैछन्, यो समयमा दिनहरू ।

उता मेरो गाउँमा खेतमा गहुँ पाकिरहेका होलान्, वैशाखको पसिना सुसाउँदै कोइलीको डाकोसँग मान्छेहरू गहुँ स्यार्दै होलान्, लालीगुराँस ढकमक्क फुलाएँ भनेर पहाड कति गमक्क परेको होला । यता मेरो सानो कोठाको झ्यालबाट त अलिकति आकाश पनि बल्लतल्ल देखिन्छ र म मनको आकाशमा संसार कल्पेर बसिरहेकी हुन्छु । आकाशको जुन हेर्छु । ताराहरूले इष्र्या गरेको जस्तो लाग्छ । फेरि म तारातिर पनि हेरिदिन्छु ।

आजभोलि राजधानीको आकाश मौन छ । राजधानी मौन छ । त्यही प्रहरी र एम्बुलेन्सका एउटा–दुई वटा गाडीको आवाज हो सुनिने भनेको । भरिभराउ भए पनि शून्य छ राजधानी, यस्तो शून्यको खै के कुरा गर्नु । मृत्युको मेलामा बाँच्नेको के कुरा गर्नु ?

दिनहरू यसरी बितेको कति भइसक्यो । हिजोआज त न दिनको याद हुन्छ न रातको नै ठेगान हुन्छ, न गतेको हेक्का हुन्छ न बारको नै । ‘आज कति पो गते बिर्सिन्छु अनि हाम्रो पात्रो पल्टाउँछु, ए ! आज २७ गते पो रहेछ । यस्तै बेला सम्झिन्छु हजुरबाका कुरा ‘हाम्रा लागि के बार के दिन सबै उस्तै हुन बा ।’

यसैबेला हजुर धेरै याद आउनु हुन्छ । सोच्छु कहाँ हुनुहुन्छ होला ? के गर्दै हुनुहुन्छ होला ? मरेपछि मान्छेले जुनि बदल्छन् रे । साँच्चै हाम्रो हजुरबा के हुनुभयो होला ? साह्रै कडा स्वभावको हुनुहुन्थ्यो । कहीँ बाघ त हुनुभएन ? फेरि सोच्छु मलाई त माया गर्नु हुन्थ्यो क्यार ।

उमेर बित्दै गए पनि मन झन झन बच्चा हुँदै जाने रहेछ । साथीसँग गट्टा खेल्छ मन, कतिबेला काफल टिप्न भनेर रनवन चहार्छ । कति बेला बेहुला–बेहुली खेल्छ । मनको यो चञ्चलपन देखेर कतिबेलाम आफैं हैरान हुन्छु । कतिबेला मुस्कुराउँछु आफैंलाई पत्तो हुँदैन ।

लेख्न त ठुला ठुला कुरा लेख्नु पथ्र्यो होला, इतिहास, विज्ञान, समाजशास्त्र अनि विश्वका कुरा । कोरोना र योसँग सम्बन्धित कुरा मैले त यस्तो केही पनि लेखिनँ, खै किन मन गाउँमै छ । पुतलीको पछि भाग्न ठिक्क छ । गहँु स्याहार्न, चौतारीमा भाका मिलाउन अनि साना–साना भाइबहिनीसँग लुकामारी खेल्न मन त्यतै व्यस्त छ ।

यसरी पनि चल्ने रै’छ जीवन । हिजो हतारमा पनि चलेकै थियो, आज केही नगरे पनि चलेकै छ । सम्झानामा पनि, बिर्सनामा पनि । आँधीमा पनि समुद्रको शान्तपनमा पनि । आखिर जसरी पनि चल्ने त रहेछ जीवन । बाँच्नु त छ नै त्यसैले अब निराश र दुःखका कुरा हैन, आशाका दीपहरू प्रज्वलित गर्दै आफूलाई नयाँ–नयाँ सिर्जनामा व्यस्त बनाउँदै बाँच्नु छ अनि अरूलाई पनि यसरी बाँच्न आह्वान गर्नु छ ।

प्रकाशित मितिः   ३ जेष्ठ २०७७, शनिबार ११:०२