मर्कामा निर्माण व्यवसायी

सुर्खेतका निर्माण व्यवसायीहरूले सरकारी कार्यालयहरूको द्वैध चरित्रले दुःख पाइएको बताएका छन् । कोरोना त्रासका कारण गरिएको लकडाउनमा जिल्ला प्रशासनले पास रद्द गर्ने तर अन्य विकासे कार्यालयहरूले टेण्डरमा सहभागी हुन आउने भन्ने निर्णयले गर्दा निर्माण व्यवसायीहरूले दुःख पाएको बताएका हुन् ।

नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतले शुक्रवार पत्रकार सम्मेलन गरी जिल्ला प्रशासनले बल्लतल्ल दिएको पास पनि आइतवारदेखि रद्द गर्ने भनेपछि निर्माण व्यवसायीहरू मर्कामा परेको बताएको हो । समाजका अध्यक्ष जनकबहादुर रावलले गत वैशाख २७ गतेदेखि पास दिएर काम थालेको र पुनः जेठ ३ गतेदेखि सो पास रद्द गर्ने भए पनि मर्कामा परेको बताए । एकातिर प्रशासनले पास रद्द गर्ने र अर्कोतिर पूर्वाधार विकास कार्यालय, डिभिजन सडकलगायतले सम्झौता गर्न आउन भनेकोले कार्यालयहरूको दोहोरो चरित्रले समस्या भएको उनको भनाइ छ ।

पास प्राप्त गरेपछि मजुदर तथा उपकरणहरू फिल्डमा गइसकेको भन्दै उनले फेरि रद्द गर्दा मजदुहरू तथा उपकरणहरू फिर्ता ल्याउन समस्या भएको उल्लेख गरे । काममा बोलाइएका मजदुरहरूलाई काम नभएपछि पुनः फिर्ता पठाउन, समान व्यवस्थापन गर्ने समय नै हुने भएकोले प्रशासनले निर्माण व्यवसायीहरूमाथि निर्मम भएको आरोप उनले लगाए । वैशाख २७ गतेदेखि जेठ २ गतेसम्म करिब एक करोडको काम सुरु भएको छ । चार मजदुरहरू र करिव २० वटा ठूला उपकरणहरु फिल्डमा खटिएका छन् ।

स्थानीय तहहरूमा अहिले विकास निर्माणका कामहरू भइरहेका छन् । निर्माण व्यवसायीहरूले असारभित्र काम सक्ने गरी पास लिएर काम थालेको जानकारी दिंदै अध्यक्ष रावलले पासहरू रद्द हुँदा निर्माण व्यवसायीहरूलाई आर्थिक क्षति अझ बढ्ने बताए । प्रदेशका अन्य जिल्लाहरूमा लक डाउनमा विकासे काम धमाधम भएको तर सुर्खेतमा भने काम गर्न नदिएको आरोप निर्माण व्यवसायीहरूको छ । लकडाउनको अवधिमा सुर्खेतमा साना ठूला गरी करिब तीन सय योजनाहरू ठप्प भएका छन् ।

प्रकाशित मितिः   ३ जेष्ठ २०७७, शनिबार ११:०९