लकडाउनमा लर्खराएको जिजिविषा

  विष्णुकुमार खड्का

बन्द गुफाको अनकन्टार कुनामा लुकिरहेको डरपोक एक मनुवा म । मानौं, दन्त्य कथाका ती सैतानी रक्तबिजहरू देबलोक कब्जाको लालसा बोकेर निरन्तर उकालिरहेछन् । बाटोघाटोमा फेला पर्ने ऋषिमुनि र मनुष्यहरूको आलो रगत बान्ता गर्दै ती डरलाग्दा राक्षसहरू इन्द्रलोक ताकिरहेछन् । वा भनौं घरछेउको बाटो गरी ती सैतानी सैन्य दस्ता आउँदैछन्, र म झ्याल–ढोका थुनेर बसिरहेछु, गुपचुप ।

केही दिनयता मेरो दैनिकी बदलिएको छ । मेरा चिन्तन र चिन्ता फेरिएका छन् । फेरिएका छन् समाचारका हेडलाइनहरू । सामाजिक सञ्जालका पोस्ट र स्ट्याटसहरू । एकाएक फेरिएका छन् मानव रंगमञ्चका परिदृश्य र पात्रहरू । अनि बदलिएका छन् साहित्य सिर्जनाका भावहरू । गीत–सङ्गीतका धुन र लयहरू । म त्यही लयमा लय मिलाइरहेछु र नियालिरहेछु बन्द कोठाबाट पलपल उकालिरहेको मानव लासहरूको अङ्कगणित र उपचारको प्रतिक्षामा रहेका ती संक्रमितहरूको लाइन ।

विश्व विवश छ आज । दुनियाँका मै हुँ भन्ने मानव मस्तिष्कहरू नतमस्तक छन् । समुद्र, चन्द्रमा र मङ्गल ग्रहमा मानव वस्तीको योजनामा जुटेको विश्वको विज्ञान र प्रविधिलाई एउटा मामुली कोभिड–१९ नामको भाइरसले चुनौती दिइरहेछ । नोबेल प्राइज विजेता विश्व विख्यात वैज्ञानिकहरू हायलकायल छन् यो कोराना भाइरस सामुन्नेमा । विश्वका शक्तिशाली मुलुकहरू र तिनका अत्याधुनिक प्रविधि लम्पसार छ यो भाइरसका अगाडि र म लम्पसार छु मेरै बन्द कोठामा यी सारा दृश्यहरू देखेर ।

रामायण र महाभारतका कथामा वर्णित मायावी राक्षसजस्तै अनेक छल र अवतार धारण गरेर त्यो भाइरस मानव शरीरमा प्रवेश गर्छ अनि एकाएक लासमा बदल्छ । यो सुन्दा पत्याउन गाह्रो छ तर दैनिक आउने तथ्याङ्कले त्यही पुष्टि गरिरहेछन् । विश्वका सबै जसो मुलुकहरू लकडाउन गरेर मानव बन्दी गृहमा बदलिरहेछन् । म पनि लकडाउनको चुपचाप अनुशरण गरेर बन्दी बनिरहेको छु । एउटा आशामा । एउटा अभिलाषामा । रात रहे अग्राख पलाउला ।

छिमेकी मुलुक चीनमा कोराना भाइरसले विश्व शक्तिको एक नम्बर देशलाई थला पारेपछि अरू प्रतिस्पर्धी देशहरूले मजाक गरेर बसे । हाम्रो उत्तरी सिमानाका सगरमाथा, हिमाल पर्वत शृङ्खला र भगवान् पशुपतिनाथको आश्रम कैलाश पर्वतको कवज बाहेक हामीसँग अरु कुनै भरोसा थिएन । म स्वभावैले स्वास्थ्यका सवालमा उति सारो चिन्ता गर्ने खाले परिनँ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा झन्डै ६ महिनाको रिक्ततापछि हामीले हाम्रो मूल नेतृत्व उपकुलपतिको रूपमा प्रा.डा. नन्दबहादुर सिंहलाई प्राप्त गरेका थियौं । उपकुलपति सरलाई स्वागत गर्ने र पदभार ग्रहण गराउने चटारो थियो । उहाँ विज्ञान र प्रविधि विधाको अझ कहलिएको जीन विज्ञ भएकोले यसको बारेमा राम्रो दख्खल राख्नु हुँदोरहेछ । विश्वविद्यालयको एक सिपाहीको हिसाबले स्वागत र पदभार ग्रहण कार्यक्रमको चाजोपाजो गर्ने अवसर मैले प्राप्त गरेको थिएँ । उहाँले एउटा बसाइँमा यो कोराना भाइरसका सम्बन्धमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयले जनचेतनामूलक र यसको अनुसन्धान तथा रोकथामका सवालमा कर्णाली प्रदेशमा नेतृत्व गर्नुपर्छ भनेर भन्नुभयो । म शिक्षाशास्त्र सङ्कायको सिपाहीको नाताले शिक्षाशास्त्र केन्द्रीय क्याम्पस र स्वास्थ्य शिक्षा शिक्षण समितिले यो अभियानको शुभारम्भ कार्यक्रम आयोजना गर्ने राय पेश गरेँ । उपकुलपति सरले थप हौसला दिनुभयो र नभन्दै हामीले उपकुलपति सरलाई प्रमुख अतिथि बनाएर डा. के.एन. पौडेल सरलाई विज्ञ वक्ताको रूपमा बोलाएर कोभिड १९ (कोराना भाइरस) को बारेमा जनचेतना अभियान प्रारम्भ ग¥यौं । त्यतिबेलासम्म हामी सजग हुने र सतर्क हुनेसम्म अवस्थामा थियौं ।

विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको भिजन, मिसन र एक्सन प्लान अनुरूप अघि बढ्ने हाम्रो साझा प्रतिबद्धता अनुरूप नै हामी जुटिरहेका थियौं । विश्वविद्यालयको निर्माणाधीन केन्द्रीय प्रशासनिक भवनलाई प्रदेश सरकारको समन्वयमा क्वारेन्टाइन बनाउने समाचार पढियो । कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्री र उपकुलपति सहितको बैठकको समाचार आयो । प्रदेश प्रमुख केन्द्रीय प्रशासनिक भवनको स्थलगत अनुगमन र सुपरिवेक्षण भयो । हामीले निर्देशन प्राप्त ग¥यौं । फोटो खिचायौं । त्यसै दिन विश्वविद्यालयका योजना अनुगम तथा विकास निर्देशनालयका निर्देशक प्रा. हिरण्यप्रसाद गौतम सरको चार वर्षे कार्यकाल सुसम्पन गरी बिदाई हुन लाग्नु भएको रहेछ । दिउँसो एक्कासी भिसी सरको क्वाटरमा उहाँको बिदाई तथा सम्मानमा जोडियो । मन खिन्न र गह्रौ भएर घर फर्कैँ । त्यही दिनदेखि विश्वविद्यालयका सम्पूर्ण निकायहरू बन्द गरेर घरमै बस्ने निर्णय भएको थियो । म पनि यो कर्मथलोको बसाइँलाई केही दिन भए पनि जन्मथलोमा निजी र पारिवारिक जीवन विताउने योजना बुन्दै थिएँ । तर एकाबिहानै घरभित्रै सुरक्षित रूपमा बस्ने गरी आवतजावत पूर्ण रूपमा प्रतिबन्ध गर्दै सरकारी लकलाउन घोषणा भएपछि आफ्नै निवासमा स्वकैदी जीवन वितिरहेको छ ।

नयाँ वर्षको सूर्य खासै उत्साह र हर्षोल्लासका साथ उदाएन । शुभकामनाका औपचारिकताहरू पनि फेसेबुके स्ट्याटस र मेसेन्जरमा सीमित भए । कोभिड १९ को विश्वव्यापी महामारीले त्राहीत्राही बनेको मन मस्तिष्कलाई सान्त्वना दिन कोराना बिरुद्धको विजय वर्षको रूपमा २०७७ रहोस् । हामी सबै सुरक्षित र स्वस्थ बन्न सकौँ । बस यति थियो यो वर्षको शुभकामना । अघिल्ला वर्षको जस्तो कर्मकाण्डी सुख शान्ति र समृद्धिको उत्तरोत्तर प्रगतिको कामना गरिएन । मनमै त्यो आश पलाएन । त्यै पनि लकडाउनमा बन्दी बनेको मेरो दैनिकी उही रफ्तारमा फरक तालले निरन्तर जारी रह्यो ।

काम खोज्नेलाई काम मिल्दो रहेछ । बहाना खोज्नेलाई बहाना मिल्दो रहेछ । एक बाटो बन्द भए अर्को बाटो मिल्दो रहेछ । खोजी गरे जे पनि भेटिँदो रहेछ । बस खोज्ने इच्छाशक्ति र भेटाउने दृढसङ्कल्प चाहिँदो रहेछ । बानी बिग्रिसकेको रहेछ । गधाको जस्तो, लोड पुगेन भने कराइहाल्ने । बन्दाबन्दीमै काम तमाम पाइयो । मेरो फेसबुकले कहिल्यै फुर्सद पाएन । मेरा निजी, पारिवारिक, पेशा र पदीय जिम्मेवारीहरूका गतिविधिले फेसबुकका वालहरू पल–पलमा पिलिक्क पिलिक्क रंगीरहे । लाइक र कमेन्टका ओइरो आइरहे । विद्युतीय चिठीपत्रहरू जारी नै रहे । अनलाइन बैठक जारी रहे । कन्फेरेन्स र सेमिनारहरूमा उपस्थिति जनाइरहेँ । भेटघाट र अन्तरङ्ग भलाकुसारी गरिरहेँ । एउटा छानोभित्रको बन्दी तीन त्रिलोक चौध भुवन घुमेर सकुशल फर्कियो । यी सब तमासा आँखै अगाडि आफैंले भोगेर देखेर प्रफुल्लित भइरहँे । मक्ख परेर हौसिरहेँ ।

नयाँ वर्षको पहिलो महिना चुनौतीको चाङ लिएर आयो । नयाँ चिन्तन र चिन्ता लिएर आयो । थप सङ्घर्ष र सपना देखाएर आयो । सिर्जना र सम्भावनाको ऊर्जा बोकेर आयो । नयाँ सम्बन्ध र नयाँ प्रविधि जोडेर आयो । सबै चिज सामुन्नेमा आयो । म ट्वाँ परेर टोलाएँ । आफंैलाई आफैंले बोलाएँ । गुम्सिएका अनेकन आभा र अभिलाषाहरू छताछुल्ल छरपस्ट पारेँ । आकासिएका आकांक्षा र अन्यौलताहरूसँग पौठेजोरी खेल्ने जुक्ति झिकेँ । नयाँ वर्षसँगै मेरो जिजिविषाको नयाँ नेतृत्व पनि सँगै आउनुभएको थियो । नयाँ वर्षकै दिनमा नै बैठकमा बोलाउट भयो । सिपाही हुनुको नाताले । सानो साटो टुकुडीको कमाण्ड सम्हालेको फिल्ड कमाण्डरको नाताले । म अनलाइन प्रविधिसँग जोडिएर हाजिर भएँ । शुभकामनासँगै नयाँ नेतृत्वको भिजन, मिसन र आगामी कार्यदिशा नसा–नसामा सल्बलायो । शिक्षा क्षेत्रमा जीवन र जिजिविषा समर्पण गर्दै कसम खाएर विश्वविद्यालयको ब्यारेकभित्र छिरेको एक सिपाही । झन्डै एक दशकको यात्रा जारी छ । नेतृत्वका योजना र कार्यक्रमहरूको इमानदारीपूर्वक कर्तव्यपालन गर्ने भिष्मप्रतिज्ञा गरेको छु मैले । त्यो निरन्तरता दिएँ ।

नेतृत्व बदलिन सक्छ । नीति बदलिन सक्छ । नेतृत्व अनुरूपका रणनीति र कार्यशैलीहरू बदलिन सक्छन् । तिनका सोच र व्यवहार फरक हुन सक्छन् तर संस्थाको सर्वोपरी हित र उच्च शिक्षाको मर्म र भावनाभन्दा फरक हुने गरी कुनै नेतृत्व जानाजान जाँदैनन् । त्यही विश्वास र मनोबलका साथ आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्ने योजना बनाउन र नेतृत्वको कार्ययोजना कार्यान्वयन गर्न जुटँे । संयोग भनौं या मेरो भाग्य । यो महिनामा मैले कोभिड बिरुद्धको अभियानमा जुट्न विश्वविद्यालयको तर्फबाट प्राध्यापाक, कर्मचारी र विद्यार्थीहरूको स्वयंसेवकहरूको लिस्ट तयार गर्ने कार्यमा जुटँे । विश्वविद्यालयको इतिहासमा नै पहिलोपटक ह्यान्ड स्यानीटाईजर उत्पादन गर्ने भिसी सरको योजना अनुरूप त्यो कार्यको संयोजन गर्दै सफलतापूर्वक उक्त कार्य सम्पन्न गरियो । विश्वविद्यालयका कार्यक्रमहरूलाई अनलाइन र वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ प्रक्रियालाई अगाडि बढाउने निर्देशन अनुरूप सङ्काय अन्तर्गतका प्राध्यापक मित्रहरूको क्षमता विकास गर्न तीन दिने ई–तालिमको आयोजना गरी संयोजन गरियो । झन्डै एक सय ५० भन्दा बढीको अनलाइन सहभागितामा विभिन्न विज्ञ सरहरूको सेसन सहजीकरणको लागि मैले नै सहयोग र आशीर्वाद पाएँ । केन्द्रीय र आङ्गिक क्याम्पसहरूको अनलाइन बैठक र कक्षाहरूमा सहभागी भइयो । उच्च शिक्षालाई उत्पादनसँग जोड्नुपर्छ भन्ने मान्यतामा म सधँै वकालत गर्ने व्यक्ति त्यसमा पनि भिसी सरले कृषि उत्पादन र कृषि उद्योगसँग जोडिएर माउन्टेन अर्गानिक कृषि कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेपछि त्यसको लागि प्रस्ताव पत्र तयार गर्ने र व्यावसायिक खेतीको लागि जमिन जोहो गर्न संयोजन गर्ने जिम्मेवारी दिनुभएकोले बखत खड्का भाइको सहयोगमा प्रस्ताव पत्रसहित कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा उपकुलपतिज्यूसँगै गएर प्रस्तावपत्र माननीय मन्त्रीज्यूलाई बुझाउने र वीरेन्द्रनगर वडा नं. ९ र १० क्षेत्रमा जमिन व्यवस्था गर्न वडा अध्यक्षज्यूहरूसँग समन्वय गर्ने काम पनि गरियो ।

यो अवधिमा कोभिडको विश्वव्यापी प्रभाव झन झन प्रतापी भएर गयो । नेपालमा पनि यो संख्या झन्डै अढाई सयको नजिक पुग्यो । धन्न कर्णाली प्रदेशमा अहिलेसम्म किटानी भएको छैन । मुलुकको राष्ट्रिय स्वाभिमान र अखण्डतामाथि हस्तक्षेप गर्दै छिमेकी मुलुक भारतले लिपुलेकमा हस्तक्षेप गरी राष्ट्रियताको मुद्दा पेचिलो रूपमा उठेको छ । सत्तारुढ दल नेकपाभित्रको किचलो चरमचुलीमा पुग्यो । सत्ता र पार्टीको दोहोरी उत्कर्षमा पुग्यो । केही खिन्नता, एकदमै नौलौ अनुभूति र अनुभव बोकेर यो महिनाले पनि अर्को एक वर्षको लागि विश्राम लियो । तर लकडाउनले सातौं हप्ता पूरा यात्रा गरेर अविराम यात्रा जारी राखेको छ ।

प्रकाशित मितिः   ३ जेष्ठ २०७७, शनिबार ११:००