प्याब्सनको जिल्ला भेला सम्पन्न

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ भदौ ।
सामाजिक रहनसहन अनुसार पाठ्यक्रम निर्माण हुनुपर्ने वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल सुर्खेतको १४ औं जिल्ला भेलाका सहभागीहरूले यस्तो बताएका हुन् ।
जिल्ला भेलालाई सम्बोधन गर्दै क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतका निर्देशक रामप्रसाद उपाध्यायले अन्तर्राष्ट्रिय भाषा भन्दैमा मौलिकपनलाई बिर्सन नहुने धारणाा राखे । निजी तथा तथा आवासीय विद्यालयहरू पनि सरकारको नीति अनुरूप दर्ता भएकाले सबै सरकारका नियमहरू पालना गर्नुपर्ने अनिवार्य भएको भन्दै निर्देशक उपाध्यायले सामाजिक व्यवहारलाई पनि ध्यान दिनुपर्ने आग्रह गरे । जिल्ला शिक्षा अधिकारी दीपा हमालले अहिलेको संक्रमणकालीन अवस्थामा सबै विद्यालयहरूले एउटै शैक्षिक क्यालेण्डर अनिवार्य रूपमा लागू गर्नुपर्ने बताइन् । स्थानीयस्तरमा संस्थागत विद्यालय बढाउनुको साथै नक्साङ्कन गरेर विद्यालयहरूको स्तरवृद्धि गर्नुपर्ने भन्दै हमालले शुल्क निर्धारणका लागि भएका पनि विद्यालयको वर्गीकरण अनिवार्य भएको उनको भनाइ थियो । संस्थागत विद्यालयका कारण शैक्षिक बुलेटिनहरू प्रकाशन गर्न ढिलो भएको प्रसङ्ग उल्लेख गर्दै हमालले अटेरी संस्थागत विद्यालयहरूले कारबाहीका भागीदार हुने चेतावनी समेत दिइन् ।
कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशनका केन्द्रीय सदस्यद्वय बालदीप कँडेल र सीताराम पौडेल, शिक्षक महासंघ सुर्खेतका सचिव कृष्णबहादुर थापा, विद्यालय निरीक्षक भोजप्रसाद लम्साल, सैनिक आवासीय महाविद्यालय मंगलगढीका प्रिन्सिपल स्थीर थापा लगायतले शुभकामना मन्तव्य दिएका थिए । भेलामा कोषाध्यक्ष दलबहादुर गुरुङ्गले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव वेदप्रकाश ढकालले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम अध्यक्ष नैनसिंह खत्रीको सभापतित्वमा सम्पन्न भएको हो ।