मिलेर प्रतिकार्य

कोरोना भाइरस (कोभीड–१९) को संक्रमितको संख्या नेपालमा दिन प्रतिदिन बढ्दै गएको छ । बुधवारसम्म दुई सय १७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमितको संख्या बढ्दै गएपछि नेपालमा नागरिकमा थप त्रास फैलिएको छ । तर सरकार र स्वास्थ्य चिकित्सकहरूले त्रसित हुनुपर्ने अवस्था नरहेको भन्दै बरु सतर्क रहन आह्वान गरिरहेका छन् । हरेक नागरिक सतर्क हुने हो भने कोरोना संक्रमणको जोखिमबाट बच्न सकिन्छ । हाम्रो सुरक्षा हाम्रै हातमा छ ।

सरकारले आफ्नो जिम्मेवारी अनुसारको भूमिका निर्वाह गरिरहेको छ । नाकाहरू बन्द गर्नेदेखि हेल्थ डेस्कहरू स्थापना गर्ने, क्वारेन्टाइन र आइसोलेसनको तयारी गर्ने लगायतका काम तीव्र गतिमा भइरहेका छन् । यद्यपि कोरोनासँग जुध्ने सबैभन्दा प्रमुख काम भने हामी आफैँले गर्न सक्दछौं । यसका लागि स्वास्थ्यकर्मीहरूले केही सुझाव पनि दिएका छन् । त्यसको पालना सबैले गर्नु जरुरी छ ।

अत्यावश्यक काम परेको खण्डमा बाहेक घरभन्दा बाहिर ननिस्कनु नै कोरोनाविरुद्धको सबैभन्दा पहिलो सतर्कता हो । यसलाई ‘सेल्फ क्वारेन्टाइन’ भनिएको छ । क्वारेन्टाइन भनेको जीवाणुसँग सम्भावित सम्पर्कमा गएका स्वस्थ व्यक्तिलाई निश्चित अवधिसम्म छुट्टै राख्ने प्रक्रिया हो । अनि त्यस्ता सम्भावित व्यक्तिहरू आफैं घरमा वा निश्चित स्थानमा छुट्टै बस्ने प्रक्रिया सेल्फ क्वारेन्टाइन हो । रोगी व्यक्तिलाई निश्चित अवधिसम्म छुट्टै राख्ने प्रक्रियालाई आइसोलेसन भनिन्छ । अनि रोगी व्यक्ति अस्पताल नगई आफैं छुट्टै बस्ने प्रक्रिया सेल्फ आइसोलेसन हो । कोभिड–१९ प्रमाणित भएका बिरामी जो सामान्य अवस्थामा छन्, घरमै आराम गरेर बस्नुलाई यहाँ सेल्फ आइसोलेसन भनिएको हो । जसको कारणले अस्पतालमा हुने अनावश्यक जोखिमबाट आफू पनि बचिन्छ र अरुलाई पनि बचाउन सकिन्छ ।

सेल्फ आइसोलेसन र सेल्फ क्वारेन्टाइनको मुख्य उद्देश्य अरुलाई रोग सर्न नदिनु हो । सम्भावित संक्रमित व्यक्ति आफ्नो बालबच्चा, श्रीमान्, श्रीमती वा बुढापाका अनि आफन्तहरूबाट सम्भव भएसम्म छुट्टै बस्नु उपयुक्त हुन्छ । घरपालुवा जनावरको सम्पर्कबाट टाढै रहनुपर्दछ । आफू र अरुलाई बचाउने सबैभन्दा प्रभावकारी रोकथामको तरिका भनेको साबुन पानीले बारम्बार हात धुने, खोक्दा र हाच्छिउँ गर्दा कुहिना अथवा रुमालले मुख छोप्ने र मुख छोपेको रुमाल सकेसम्म परिर्वतन गरिहाल्ने अथवा सफा गरी राख्ने गर्नुपर्दछ । यसो गर्नाले आफूमात्रै सुरक्षित नभइ आफ्नो परिवार र अरुलाई पनि रोग फैलाउनबाट रोक्न सकिन्छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा अफ्ठ्यारो भए अथवा सञ्चो नभएको जस्तो भए घरै बस्ने र स्वास्थ्यकर्मीको सल्लाह लिइहाल्ने गरेमा जोखिमबाट बच्न सकिन्छ । चिकित्सकहरूले दिएका यस्ता सुझावलाई मनन् गरेको खण्डमा पनि कोरोनाको जोखिमबाट जोगिन मद्दत पुग्दछ । विश्वजगत नै जुधिरहेको कोरोनासँग जुध्न नागरिक नै सचेत हुनु अपरिहार्य छ । केही भएको छैन भनेर बेवास्ता गर्दा दुर्घटना निम्तिन सक्ने खतरालाई सबैले समयमै प्रतिकार्यमार्फत परास्त गर्नु आजको आवश्यकता हो ।

प्रकाशित मितिः   १ जेष्ठ २०७७, बिहीबार ११:५९