दुई हजारको पीसीआर परीक्षण

कर्णाली प्रदेशका दुई हजार जनाको पीसीआर मेसिनबाट कोरोना परीक्षण गरिएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पिसिआर मेसिनमार्फत दुई हजार ४० जनाको परीक्षण गरिएको हो । भारत तथा अन्य देश र जोखिम भएका जिल्लाबाट आएका व्यक्तिहरूको कोरोना परीक्षण गरिएको छ ।

हाल प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कोरोना परीक्षणका लागि पीसीआर मेसिन राखिएको छ । परीक्षण गरिएका सबैको रिपोर्ट अहिलेसम्म नेगेटिभ आएको स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीले बताइन् । अहिलेसम्म कर्णाली प्रदेशमा सतर्कता अपनाएका कारण एक जना पनि कोरोना संक्रमित नभेटिएको उनको भनाइ छ ।

उनका अनुसार प्रदेशमा र्‍यापिट टेष्ट (आरडीटी) मार्फत करिब आठ हजारको परीक्षण भएको छ । ¥यापिट टेष्ट मार्फत कोरोना परीक्षण गरिएका सबै जनाको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिइन् । अब प्रदेशमा कोरोना परीक्षणको दायरा बढाइने योजना रहेको उनले बताइन् । वडा स्तरसम्म कोरोना परीक्षणको दायरा पुर्याउने उल्लेख गरिन् । मेडिकल मार्च सुरु गरिएको जानकारी दिँदै उनले वडासम्म भए पनि कोरोना परीक्षणको दायरा बढाइने बताइन् ।

प्रदेशले कोरोना परीक्षण किट अपुग भएपछि आफैं खरिद गर्ने तयारी गरेको छ । केन्द्रबाट किट कम आएकाले अब प्रदेश सरकारले आफैं किन्ने योजना बनाएर प्रक्रियामा रहेको भण्डारीले जानकारी दिइन् । उनले भनिन्, ‘अहिलेसम्म हामी सबैको प्रयासले कोरोनाको संक्रमण हाम्रो प्रदेशमा देखिएको छैन । अब भारतबाट घर फर्किन सक्छन् भन्ने आँकलन पनि हामीले गरेका छौँ । प्रदेश अस्पताल मार्फत सामाजिक विकास मन्त्रालयले तयारी गरेको छ ।’ उनले सबै जिल्ला अस्पतालहरूले पनि क्षमता अनुसार किट किन्ने तयारी गरिएको जानकारी दिइन् ।

 

प्रकाशित मितिः   १ जेष्ठ २०७७, बिहीबार ११:५५