घुम्टीले मोड्यो दुःखको बाटो
साझा बिसौनी संवाददाता
सुर्खेत, २७ भदौ ।
उनको १३ वर्षको कलिलो उमेरमा नै विहे भयो । जब उनी १५ वर्षकी भइन्, तब उनको श्रीमान्सँग सम्बन्धविच्छेद (डीभोर्स) नै हुनपुग्यो । कलिलै उमेर विवाह गर्दा उनको पढाइ बीचमै रोकियो । चाहेर पनि उनले धेरै पढ्ने रहर पूरा गर्नसकिनन् । आफन्तले ललाईफकाई विहे गरिदिएपछि उनका दुःखका दिन सुरु भए ।
हतारमा विहे गरेकै कारण छिन्चु निवासी मंगली परियारको न त पढ्ने रहर पूरा भयो, न त घरबार नैटिक्यो । बरु आर्थिक अभावका कारण उनलाई समस्याहरूले घेरा हाले । पीडाले थलिएकी मंगलीलाई उनका दौतरीहरूले साहस दिए । स्थानीय दीपशिखा किशोरी संवाद केन्द्रका किशोरीहरूले मंगलीलाई सहयोग गरे । असफलता र अभावले गर्दा जीवनदेखि नै निराश बनेकी मंगलीले साथीहरूको सहयोगमा सिलाइ–कटाइ तालिम सिकिन । सीप सिकेपछि उनले अहिले घर नजिकै घुम्टी राखेर कपडा सिलाउन थालेकी छन् ।
कुनैबेला सबैको हेलाको पात्र बनेकी उनले भनिन्, ‘पहिला त सबैले हेला गर्थे, मलाई पनि केही गर्न सक्दिन जस्तो लाग्थ्यो । तर संवाद केन्द्रमा गएपछि आँट आयो, अहिले आफ्नै घुम्टीमा बसेर दिनमा चारजोर कपडा सिलाउँछु ।’ कपडा सिलाउन थालेपछि आफ्नो खर्च टर्न थालेको भन्दै उनले महिनामा २५ हजार रूपैयाँसम्म आम्दानी हुने गरेको बताइन् । विगत सम्झदैं उनले थपिन्, ‘कपडा सिलाउन नसिकेको भए, सायद म कहाँ हुन्थे थाहा छैन । तर यही घुम्टीले नै मेरो बाटो माडिदियो, अब मेरा सुखका दिन सुरु भए ।’ कपडा सिलाएर आम्दानी भएको रकम समूहमा बचत गर्न थालेको जानकारी दिंदै उनले परिवार र आफन्तहरूलाई पनि सहयोग गर्न सकेकोमा खुशी व्यक्त गरिन् ।
मैनतडा निवासी २१ वर्षीया तिलसरा विकको दुःखको बाटो पनि घुम्टीले नै मोडिदिएको छ । सानैमा विहे गरेपछि घर खर्च धान्न मुस्किल भयो । त्यसपछि उनको जोडी मजदुरीका लागि घरबारी नै त्यागेर दुई वर्षसम्म भारतको सिमलामा
बस्यो । मुग्लानमा नसोचेको दुःख पाए उनीहरूले । त्यसपछि घर फिर्ता भएको उनको जोडीलाई गाउँकै दौंतरीहरूले सम्झाए । स्थानीय फूलबारी किशोरी संवाद केन्द्रमा आवद्ध भएपछि तिलसराले गाउँमै केही काम गर्ने सोच बनाइन् । संवाद केन्द्रले दिएको १० हजार ऋणले घर नजिकै घुम्टी पसल थापेर व्यापार सुरु गरिन् । अहिले उनको घुम्टीमा दुई लाख भन्दा बढीको सामान छ । संवाद केन्द्रको ऋण पनि उनले फिर्ता गरिसकेकी छन् । कुनै बेला अर्काको देशमा मजदुरी गर्ने तिलसरा हिजोआज गाउँमा साहुनी बनेकी छन् ।
आफ्नो विगत सम्झदैं तिलसराले भनिन्, ‘हतारमा विहे गर्दा धेरै दुःख पाइयो, आम्दानी नहुँदा त छाक टार्नै मुस्किल भयो । जब साथीहरूले गाउँमै व्यवसाय गर्न सहयोग गरे, त्यसपछि मात्र हाम्रा सुखका दिन सुरु भए ।’ पहिला अरुसँग सापटी मागेर घरखर्च चलाउने उनी अहिले अरुलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने भएकी छन् । घुम्टी पसल सुरु गरेपछि आफ्नो दुःखको बाटो मोडिएको भन्दै उनले घरमै बसेर आम्दानी हुन थालेको जानकारी दिइन् । आफ्नो दौंतरीहरूको सल्लाहमा घुम्टी पसल सञ्चालन गरेर आम्दानी गर्न सफल बनेका मंगली र तिलसरा प्रतिनिधि पात्र मात्र हुन् । जिल्लामा पछिल्लो समय धेरै किशोरीहरू उद्यमी बनेका छन् । बालविवाह र आर्थिक अभावका कारण विद्यालय जान नपाएकाहरूलाई गाउँका किशोरीहरूले संवाद केन्द्र र आशा सञ्जालबाट सहयोग र सल्लाह दिन थालेका छन् । जसको परिणाम किशोरीहरू विभिन्न व्यवसाय गरेर उद्यमी तथा आत्मनिर्भर बन्न थालेका हुन् ।
जिल्लाका विभिन्न गाविसहरूमा किर्डाक नेपालले संवाद केन्द्र र आशा सञ्जाल गठन गरेर किशोरीहरूलाई जीवन उपयोगी सीप र आत्मनिर्भर बन्ने उपायहरू सिकाउन थालेपछि किशोरीहरू आर्थिक उत्पादनतर्फ लागेका हुन् । ग्रामीण क्षेत्रका किशोरीहरूले घुम्टी पसल, सिलाइ–कटाइ, तरकारी खेती र अन्य आयआर्जनका क्रियाकलापहरू सञ्चालन गरिरहेका छन् । किर्डाक नेपालका जिल्ला कार्यक्रम संयोजक अनुप नेपालीले किशोरीहरूलाई आफूहरूले जीवन उपयोगी सीप प्रदान गरेर आत्मनिर्भर बनाउने प्रयास गरिरहेको बताए ।
साथै उनले आयआर्जनमा जुटेपछि किशोरीहरूको आर्थिक अवस्थामा समेत सुधार आएको उल्लेख गरे । आयआर्जनमा जुटेपछि किशोरीहरू हिजोआज स्थानीय संरचना र सामाजिक विकासका काममा समेत अग्रसर हुन थालेको किर्डाक नेपालले जानकारी दिएको छ ।
साझा बिसौनी संवाददाता ।