५१ सदस्यीय प्रदेश कमिटी

साझा बिसौनी संवाददाता
सुर्खेत, २६ भदौ ।
नेकपा एमालेको प्रदेश नं. ६ को प्रदेश कमिटी ५१ सदस्यीय बनेको छ । एमाले स्थायी कमिटीको आइतवार बसेको बैठकले प्रदेश कमिटीलाई पूर्णता दिएको हो ।
प्रदेश नं. ६ को संयोजकमा पार्टी उपाध्यक्ष युवराज ज्ञवाली र सहसंयोजकमा पोलिट्ब्यूरो सदस्य यामलाल कँडेल यसअघि नै छनोट भइसकेका थिए । प्रदेश कमिटीमा सुर्खेतबाट पाँच जना परेका छन् । एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाही, पूर्व अध्यक्ष नवराज रावतसहित बालकृष्ण बिसी, ताराप्रसाद देवकोटा र नन्दा चपाईं (शर्मा) परेका छन् । त्यसैगरी दैलेखबाट निवर्तमान जिल्ला कमिटी अध्यक्ष अम्मरबहादुर थापा, लक्ष्मी पोख्रेल, सावित्री मल्ल र टेकबहादुर खाँड छनोट भएका छन् । जाजरकोटबाट भैरवसुन्दर श्रेष्ठ, करवीर शाही, लालबहादुर महतारा, कौशीला खत्री, रत्नप्रसाद शर्मा, डम्बरबहादुर सिंह छनोट भए । कालिकोटबाट विजया विष्ट, कुर्माराज शाही, तुलाराज विष्ट, नगिन्द्र शाही परेका छन् ।
एमालेले सात वटै प्रदेश कमिटीलाई पूर्णता दिएको छ । मुलुक सङ्घीय संरचनामा गएपछि पार्टीलाई सङ्घीय स्वरूपमा लगेर प्रादेशिक कमिटी गठन गर्ने एमाले पहिलो प्रमुख दल बनेको छ । एमाले स्थायी कमिटीको आइतवारको बैठकले सबै प्रदेश कमिटी सदस्यहरूको नाम सार्वजनिक गरेको छ । सात वटै प्रदेशका संयोजक र सह–संयोजक भने गत स्थायी कमिटी बैठकले चयन गरेको थियो । एमालेका सात प्रदेश कमिटीमध्ये सबैभन्दा ठूलो ३ नम्बर प्रदेश कमिटी बनेको छ, जसमा संयोजक र सह–संयोजकसहित एक सय ११ सदस्य रहेकमा छन् । सबैभन्दा सानो कमिटी ६ नम्बर प्रदेशमा बनेको छ । जसमा संयोजक र सह–संयोजक सहित ५१ सदस्य छन् ।
प्रदेश कमिटीमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, निवर्तमान जिल्ला अध्यक्ष, निर्वाचित राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य लगायत समावेशी कोटाका सदस्यहरू रहेको एमाले सचिव योगेश भट्टराईले बताए ।

प्रकाशित मितिः   २७ भाद्र २०७३, सोमबार १०:३८