मौसमी मस्यौदामा छलफल

साझा बिसौनी संवाददाता
सुर्खेत, २६ भदौ ।
जल, जलवायु र मौसम सम्बन्धी प्रस्तावित मस्यौदामा छलफल भएको छ । मौसम विभाग र क्षेत्रीय हावापानी कार्यालय सुर्खेतको संयोजनमा उक्त कार्यक्रम आइतवार वीरेन्द्रनगरमा सम्पन्न भएको हो । कार्यक्रमका सहभागीहरूले जलवायु र मौसमी सूचना प्रणालीबारे आफ्नो धारणा राखेका थिए ।
प्रस्तावित मस्यौदामा सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीहरूले देशको पुनर्संरचना अनुसार मौसम विभागको संरचना विस्तार गर्नुपर्ने सुझाव दिए । साथै उनीहरूले अब विभागमा अधिकार केन्द्रित नगर्न र प्रदेशमा प्रत्यायोजन गर्न आग्रह गरे । मौसमी अवस्थाको बारेमा पूर्व सूचना प्रवाहको संरचनालाई सुधार गर्नुपर्ने उनीहरूको भनाइ छ ।
मौसमी सेवा सम्बन्धी उक्त मस्यौदामा समावेश भएका व्यवस्था र सुधार गर्नुपर्ने साङ्गठनिक संरचना र प्रशासनिक संरचनाको बारेमा पनि कार्यक्रममा छलफल भएको थियो । सो अवसरमा जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
उनीहरूले मौसमी अवस्थाको बारेमा पूर्व जानकारी नहुँदा विपत्को सामना गर्नु परेको र हवाई दुर्घटनाको जोखिम भोग्नु परेको भन्दै आधुनिक प्रविधिको प्रयोग गरेर सूचना प्रणालीलाई व्यवस्थित गर्न सुझाव दिए । क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका प्रमुख निराजन सापकोटाले प्राप्त भएका सुझावहरूका आधारमा मस्यौदाको अन्तिम रूप दिने जानकारी दिए ।

प्रकाशित मितिः   २७ भाद्र २०७३, सोमबार १०:३६