‘पानकली’ निर्माण

साझा बिसौनी संवाददाता
कालिकोट, २६ भदौ ।
खस भाषाको पहिलोे नेपाली कथानक चलचित्र ‘पानकली’ निर्माण गरिएको छ । नेपाली खस भाषाको जन्मथलो कर्णालीलाई केन्द्रविन्दु बनाएर निर्माण गरिएको खस भाषाको चलचित्र पानकली प्रदर्शनको तयारी गरिएको छ ।
यदी भदौ २९ गतेदेखि चलचित्र प्रदर्शनमा आउने निर्देशक खगेन्द्र न्यौपानेले जानकारी दिए । ‘छायाङ्कनको काम सकिएको छ’ उनले भने, ‘सुदूर तथा मध्यपश्चिमकी एक महिलाले भोग्नुपर्ने बाध्यतालाई कथामा उतार्ने प्रयास गरिएको छ ।’ चलचित्रमा कृष्णराज धमाला र मनु अधिकारीको मुख्य भूमिका रहेको छ ।
चलचित्रका नायक कृष्णराज धमालाले चलचित्रमा पहिलो पटक भूमिका निर्वाह गर्दा केही अप्ठेरो भए पनि चलचित्रमार्फत् दिन खोजेको सन्देशले सबै पीडा बिर्साएको बताए । उनले समाजका विकृति, विसंगति अन्त्य गर्ने अभियानमा योगदान दिन पाएको भन्दै खुशी व्यक्त गरे । गायिका
तथा चलचित्रकी नायिका मनु अधिकारीले एक नारीले जीवनभरी भोग्नुपर्ने पीडालाई आफूले सक्दो उतार गरेको भन्दै हिउँ परिरहेको अवस्थामा पनि छायाङ्कनमा जुट्दा केही पीडा भए पनि यसले दिन खोजेको सन्देशका कारण आफ्नो पीडा बिर्सिएको बताइन् । समाजको वास्तविकता सामाजिक कु–संस्कार, कुरिती र नारी हिंसालाई जस्ताको त्यस्तै उतारी वास्तविक नेपाली भाषाको पहिचानका लागि यो चलचित्र निर्माण गरिएको निर्देशक न्यौपानेको दाबी छ ।

प्रकाशित मितिः   २७ भाद्र २०७३, सोमबार १०:३२