सुर्खेतका उद्योगी भन्छन्,–उद्योग चलाउने वातावरण नै छैन
वीरेन्द्रनगर औद्योगिक क्षेत्रका २७ उद्योग मध्ये सात वटा मात्र खुले
सुर्खेतः सरकारले खाद्यान्नलगायत अत्यावश्यक वस्तु तथा सेवाका उद्योग सञ्चालन गर्न भने पनि सुर्खेतको वीरेन्द्रनगरस्थित औद्योगिक क्षेत्रमा रहेका अधिकांश उद्योगहरु सञ्चालनमा आउन सकेका छैनन् । यहाँका २७ उद्योग मध्ये सात वटा मात्रै आंशिक रुपमा खुलेका छन् । कच्चा पदार्थ, ढुवानी र बजारीकरण सहज नभएकाले उद्योग सञ्चालन गर्न नसकिएको उद्योगीहरुले बताएका छन् ।
वीरेन्द्रनगर औद्योगिक क्षेत्रका प्रमुख जीवनारायण बन्जाडेले २७ वटा उद्योग मध्ये सात वटा मात्रै खुलेको बताए । ‘पानी, दुध, कुखुरा पालन र केही काठ उद्योगहरु मात्र सञ्चालनमा आएका छन्,’ उनले भने, ‘कच्चा पदार्थ, मजदुर र यातायातको सुविधा नभएकाले सबै उद्योगहरु सञ्चालन हुन सकेका छैनन् ।’ खुलेका उद्योगहरुले पनि कच्चा पदार्थ नपाएको उनले बताए । भिड नगरेर उद्योग सञ्चालन गर्न सक्ने अवस्था भए पनि कच्चा पदार्थ ढुवानी र मजदुर आवतजावतमा समस्या भएकाले सहज रुपमा सञ्चालन हुने अवस्था नरहेको प्रमुख बज्जाडेले जनाए ।
राधा कृष्ण उड इन्डस्ट्रीका संचालक उद्यम बस्नेतले सरकारले उद्योग खोल्न भने पनि त्यस अनुसारको वातावरण तयार नगरेको गुनासो गरे । कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने भएकाले उद्योग खोल्नुको मात्रै अर्थ नरहेको उनले बताए । ‘सरकारले उद्योग मात्र खोल्ने भनेर भएन,’ उनले भने, ‘कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्छ । प्रदेश सिल गरिएको छ । यातायात बन्द छन् ।’ काठ उद्योग सञ्चालन गरिरहेका उनले गाडी बन्द भएका कारण वनबाट काठ ल्याउन नसकिएको बताए ।
प्रदेशको छिमेकी जिल्ला बाँकेको नेपालगन्जमा कोरोना संक्रमण फैलिए पछि कर्णाली प्रदेश सरकारले यही वैशाख २२ गतेदेखि एक सातासम्मका लागि प्रदेश सिल गरेको छ । जसका कारण यहाँ अंधिकाश उद्योगले कच्चा पदार्थ ल्याउन पाएका छैनन् । अहिले अत्यावश्यकीय वस्तुबाहेकका अन्य मालसमानको उत्पादन गर्दा पनि बजारमा बेच्न सकिने अवस्था छैन । सरकारले खाद्यान्न, तरकारी र फलफुल पसलहरु मात्रै खोल्न दिएको छ ।
सुर्खेत उद्योेग वाािणज्य संघका अध्यक्ष धनबहादुर रावतले सरकारले उद्योग सञ्चालन सम्बन्धि स्पष्ट नीति नल्याउँदा समस्या भएको बताए । विकास निर्माणका काम, कृषिलगायतका उद्योगहरु खोल्ने त भनियो,’ उनी भन्छन्, ‘उद्योग र विकास निर्माणका काम गर्न सामग्री ल्याउने वातावरण बनाइएन ।’ यस विषयमा स्थानीय प्रशासनसँग आफूहरुले छलफल गरिरहेको भन्दै प्रदेश सरकारको पनि ध्यानाकर्षण गरिने उनले बताए । उद्योग खोल्ने सरकारको निर्णयले उद्योगीहरुलाई अलमल पारेको छ । बजार बन्द हुँदा भएको उत्पादन पनि कहाँ पठाउने भन्ने चिन्ता उनीहरुलाई छ । कच्चा पदार्थ, मजदुर र बजारको अभावमा उद्योग सञ्चालन गर्न नसकिने उद्योगीहरुले बताएका छन् ।
प्रकाशित मितिः २८ बैशाख २०७७, आईतवार ०८:३४
साझा बिसौनी ।