अनलाइन कक्षाः चर्चा मात्रै बढी, देखिएन प्रभावकारी
सुर्खेतः देशभरका शैक्षिक संस्थाहरु अनिश्चित समयका लागि बन्द छन् । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि शैक्षिक संस्था बन्द हुँदा झन्डै दुई महिनादेखि सम्पूर्ण शैक्षिक प्राज्ञिक गतिविधिहरु ठप्प प्रायः नै छन् । यो बीचमा पठनपाठन मात्रै होइन वार्षिक शैक्षिक ‘क्यालेन्डर’ समेत प्रभावित भएको छ । विद्यालय तहदेखि विश्वविद्यालयसम्मका परीक्षा रोकिएका छन् । सम्पन्न भएका परीक्षाका पनि नतिजा प्रकाशन हुन सकेको छैन । नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना हुन नपाएको स्थिति छ । सरकारले लकडाउन जारी गर्नु पहिलेदेखि नै शैक्षिक गतिविधि ठप्प भए पछि लाखौं विद्यार्थी, शिक्षक र अभिभावकलगायत यस पेशासँग सम्बन्धित सबै सरोकारवाला प्रभावित भएका छन् ।
यतिबेला देशभर अनलाइन कक्षा र भर्चुअल बैठकका चर्चा खुबै हुने गरेका छन् । विद्यार्थीको ठूलो हिस्सा अनलाइन भर्चुअल प्रणालीको पहुँचबाहिर छ । इन्टरनेटको सीमित पहुँचका बाबजुत कर्णाली प्रदेशका केही शैक्षिक संस्थाहरुले पनि सूचना प्रविधिको प्रयोग गर्दै पठनपाठन सुचारु गर्ने जमर्को गरिरहेका छन् । विद्यालयहरुले अनलाइन ‘सफ्टवेयर’का माध्यमबाट कक्षा सञ्चालन गर्ने कोशिस गरे पनि प्रभावकारी भने हुन सकेको छैन । शैक्षिक संस्था बन्द भएपछि अधिकांश विद्यार्थी गाउँमा छन्, जहाँ इन्टरनेटको पहुँच छैन ।
सरकारले परीक्षा क्यालेन्डर बिग्रन नदिन अनलाइन पढाइ शुरू गर्ने जनाएको छ । तर, सहर केन्द्रित शैक्षिक संस्थामा बाहेक अन्यत्र अनलाइन पढाई सम्भव देखिएको छैन । सहर बजारकै सबै सामुदायिक तथा नीजी विद्यालयमा समेत इन्टरनेट जडान गरिएको छैन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन)ले अनलाइन कक्षा सञ्चालन गर्न प्रदेश, जिल्ला र स्थानीय समितिलाई निर्देशन दिएको भए पनि सबै निजी विद्यालयले गर्न सक्ने अवस्था नरहेको प्याब्सन कर्णाली प्रदेशका अध्यक्ष नैनसिंह खत्रीले बताए । ‘केही विद्यालयले अनलाइन कक्षा सुरुवात गरेका छन् । प्रभावकारी भने हुन सकेको छैन,’ उनी भन्छन्, ‘अधिकाश विद्यार्थी गाउँ गएका छन् । इन्टनेटको पहुँचमा छैनन् ।’ इन्टरनेटको पहुँचमा भएका थोरै विद्यार्थीले मात्र कक्षा लिन पाएको उनले बताए । इन्टरनेट र विद्युत समेत नियमित नहुँदा धेरै विद्यार्थी अनलाइन कक्षा लिनबाट बन्चित छन् । यसले गर्दा विद्यार्थीबीचमा विभेद पनि देखिन थालेको छ ।
प्याब्सन अध्यक्ष खत्रीले प्रत्यक्ष भिडियो कक्षाभन्दा रेडियो र टेलिभिजनबाट सञ्चालन गरिएका कक्षा बढी प्रभावकारी देखिएको बताए । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर उपत्यकाका ४–५ वटा निजी विद्यालयहरुले मात्रै अनलाइन कक्षा शुरु गरेका छन् । अरु विद्यालयमा कक्षा सञ्चालन गर्न सम्भव भएको छैन । निजी विद्यालयहरुले अनलाइन कक्षा सुरु गर्न थालेसँगै शुुल्क उठाउन र शिक्षक कर्मचारीलाई तलब खुवाउने रकम जम्मा गर्न यसो गरिएको आरोप पनि लाग्न थालेको छ । तर, विद्यालयहरुले अनलाइन कक्षाको शुल्क नलिएको बताएका छन् । वीरेन्द्रनगरस्थित चिल्ड्रेन प्याराडाइज माध्यमिक विद्यालयले कक्षा ८,९ र १० का विद्यार्थीलाई अनलाइन माध्यमबाट पठनपाठन गराइरहेको शिक्षक हरि चालिसेले बताए । उनकाअनुसार सबै विद्यार्थी भने समेट्न सकिएको छैन । विद्यार्थीलाई पठनपाठनमा सहजीकरण गर्ने उद्देश्यले मात्रै अनलाइन कक्षा सुरुवात गरेको उनले बताए । ‘सबै विद्यार्थी सहभागि हुन नसक्ने भएकाले कोर्ष अघि बढाइएको छैन,’ उनले भने, ‘कक्षा लिन सम्भव भएकालाई मात्रै सहजीकरण गरिरहेका छौं ।’
यतिबेला मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पनि अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । विश्वविद्यालयको विज्ञान तथा प्रविधि केन्द्रिय क्याम्पसका उपप्राध्यापक पन्चदेव भट्टले विद्यार्थीको सहभागिता भने न्यून रहेको बताए । उनी भन्छन्, ‘अनलाइन कक्षाको सुरुवात गर्नु राम्रो पक्ष भए पनि कर्णालीमा अहिलेकै अवस्थामा प्रविधिको प्रयोग गरी अध्यापन गराउनु सम्भव छैन ।’ सरकारले सेवा प्रदायकहरुसँग समन्वय गरी इन्टरनेटको पहुँचमा सबैलाई जोड्न सके मात्रै अनलाइन कक्षा प्रभावकारी बनाउन सकिने उनको भनाइ छ ।
प्रकाशित मितिः २७ बैशाख २०७७, शनिबार १६:२९
साझा बिसौनी ।