कोही त होली
♦ अर्जुन आचार्य
चराहरुसँग
पखेटा सापटी मागेर
कुनै एक दिन उड्ने मन छ
मायाको गाउँतिर-
कोही त होली कुनै कन्दरामा
जो यसरी नै मलाई कुरेर बसेकी होस्
*********************************
बाटो छेउमा
उभिएका उदास-
रुखहरुलाई गीत सुनाउनु छ भनेपछि
सारंगीले देला कि नाई
दुई चार वटा तारहरु ?
*********************************
मेरी उनीको
शिरमा बाध्ने मन छ भनेर माग्दा
आकाशले देला कि नाई
एक गुजुल्टो कालो बादल ?
*********************************
प्रेमको बाटोभरी
प्रसस्तै भेटिने ढुङ्गाहरुलाई सुनाउन,
मुना मदनका चार हरफ सारेर लगे भने
देवकोटा रिसाउँलान कि नाई ?
*********************************
बैकुण्ठ मानन्धरसँग
पैताला सापटी मागेर कुनै एक दिन
बेपत्ता कुद्ने मन छ
मायाको घरतिर
कोही त होली कुनै कन्दरमा
जो यसरी नै मलाई कुरेर बसेकी होस्
*********************************
बाटोमा कुनै कतै एक
नदी भेटियो भने
हृदय पनि त पखालेर जानू छ
कहीँ कतै बगैंचा भेटियो भने
बगैचासँग उनका लागि
एउटा रातो गुलाफ पनि त माग्नु छ
*********************************
बाटोमा कहीँ एक
भमरा भेटियो भने
उनको नाम पनि त सोध्नु छ
*********************************
स–साना नानीहरूसँग
एकैछिनलाई आवाज सापटी मागेर
कुनै एक अग्लो डाँडाबाट
उनको नाम लिदै-
बेस्सरी चिच्याउन मन छ
कोही त होली कुनै कन्दरामा
जो यसरी नै मलाई कुरेर बसेकी होस्
जो यसरी नै मेरो आवाज कुरेर
बसेकी होस् ।।
साझा बिसौनी ।