दैलेखमा स्थानीय र प्रहरीबीच झडप

दैलेखः जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिकामा स्थानीय र प्रहरीबीच झडप भएको छ । नगरको वडा नम्बर–४ सातटाकुरामा सडक बनाउने विषयमा विवाद हुँदा शनिबार साँझ झडप भएको हो । झडपका क्रममा एक प्रहरी र २ स्थानीय घाइते भएका छन् ।

प्रदेश सरकारको २५ लाख र चामुण्डाबिन्द्रासैनी नगरपालिकाको ५ लाख बजेटमा धनपायाबाट सातटाकुरा–नाव सालडाँडा हुँदै जंगलसम्म १३ किलो सडक निर्माण हुँदै थियो । सडक निर्माणका लागि गठित उपभोक्ता समितिको सट्टा अर्को उपभोक्ता समिति पनि नगरपालिकामा दर्ता गराउन ल्याएको विषयमा विवाद सुरु भएको थियो । नगर उपप्रमुख तारा शाही खत्रीका अनुसार सडक खन्न डोजर लगाइरहेका बेला स्थानीय केही व्यक्तिले अवरोध गरेका थिए । सडक खन्न अवरोध गरेपछि विवादले झडपको रुप लिएको हो ।

विवादपछि प्रहरी बोलाइएको र स्थानीय व्यक्तिहरुको समूहले प्रहरीमाथि नै आक्रमण गरेको उपप्रमुख खत्रीले बताइन् । झडपमा २५ वर्षीय प्रहरी जवान भीमबहादुर सुनार, चामुण्डाविन्द्रासैनी नगरपालिका–४ सातटाकुराका २८ वर्षीय कमल शाही र ५५ वर्षीय रमेश शाही घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी टोलीमाथि आक्रमण भएपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो । हवाई फायर पछि मात्रै स्थिति नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये कमल शाहीको उपचार दैलेख जिल्ला अस्पतालमा भइरहेको छ भने रमेश शाही र प्रहरी जवान सुनारको उपचार दुल्लू अस्पतालमा भइरहेको छ । ४०–४५ जनाले प्रहरीमाथि नै आक्रमण गरेपछि इलाका प्रहरी कार्यालय दुल्लूका प्रहरी निरीक्षक हिक्मत बोहोराको नेतृत्वमा गएको थप प्रहरी टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मितिः   २८ बैशाख २०७७, आईतवार १०:४७