लकडाउन जेठ ५ गतेसम्म थपियो

सुर्खेतः सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन थप्ने निर्णय गरेको हो । जारी लकडाउन वैशाख २५ गते भोली समाप्त हुँदै थियो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो । तर सरकार त्यसमा सहमत भएन । संक्रमण बढ्दै गएको र अवस्था जोखिमपूर्ण देखिएको भन्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको छ । नेपालमा हालसम्म ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने तीमध्ये २२ जना निको भएका छन् । चैत ११ मा लकडाउन सुरु हुँदा नेपालमा दुई जना मात्र संक्रमित थिए । लकडाउन भएको बुधबार ४४ दिन पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार प्रदेश एकमा ३१, प्रदेश २ मा १३, वाग्मतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा भने अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन । मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय हवाई उडान र सीमा नाकामा आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

प्रकाशित मितिः   २४ बैशाख २०७७, बुधबार १५:४२