कर्णालीमा कोरोना परीक्षण ठप्प

सुर्खेतः कर्णालीमा कोरोना परीक्षण रोकिएको छ । भीटीएम र प्रोसेसिङ किटजस्ता प्रयोगशाला सामग्री सकिएपछि परीक्षण ठप्प भएको हो । प्रदेश स्वास्थ्य निर्देशक रीता भण्डारीले किट अभावमा शनिवारदेखि परीक्षण रोकिएको बताइन् । उनका अनुसार पीसीआरका प्रयोगशाला सामग्री र आरडीटी किट नहुँदा क्वारेन्टाइन बसेका व्यक्तिको समेत नमुना परीक्षण भएको छैन । १४ दिन पुगेपछि कतिपय क्वारेन्टाइनबाट परीक्षणबिनै घरतिर लागेका छन् ।

निर्देशक भण्डारीले मागअनुसार आरडीटी किट र पीसीआरका लागि प्रयोगशाला सामग्री नआउँदा समस्या देखिएको बताइन् । ‘माग गरेअनुसार सामग्री नआउँदा सोचेअनुसार परीक्षण गर्न सकिएको छैन,’ उनले भनिन्,‘ क्वारेन्टाइनमा बसेका मध्ये केही व्यक्तिको मात्रै भएपनि नमुना संकलन गरेर परीक्षण गर्ने योजना बनाएका छौं ।’ केन्द्रसँग माग गरिएका र निर्देशनालय आफैले खरिद प्रक्रिया अघि बढाएका किट शुक्रवारसम्म आइपुग्ने उनले बताइन् ।

परीक्षण तीव्र पार्ने भन्दै प्रदेश अस्पताल सुर्खेत र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जोडिएका ठूलो क्षमताका आरटी–पीसीआर मेसिन स्वाब संकलन गर्ने किट अभावमा थन्किएका छन् । निर्देशनालयका अनुसार हिजो (सोमवार)सम्म प्रदेशभर पाँच हजार तीन सय जनाको आरडीटी र एक हजार ६९ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रकाशित मितिः   २३ बैशाख २०७७, मंगलवार १२:५९