कोरोना अपडेट

नेपालगन्जमा थप सात जनामा कोरोना संक्रमण

सुर्खेतः बाँकेको नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालगन्जमा मात्रै संक्रमितको संख्या २३ पुगेको छ । यसअघि गत शुक्रवार एक जना र आइतवार एकै दिन १५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

नेपालगन्जमा मंगलबार संक्रमण पुष्टि हुनेहरुमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९, ३२, ३४ र ५५ वर्षीया महिला भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

कोभिड–१९ को संक्रमण समुदायमा फैलिएपछि बाँकेमा तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ पुगेको छ । हालसम्म संक्रमण पुष्टि भएकामध्ये १६ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः   २३ बैशाख २०७७, मंगलवार १०:५३