कर्णाली प्रदेश सात दिन सिल गरिने

सुर्खेतः कर्णाली प्रदेश सात दिनका लागि सिल गर्ने निर्णय भएको छ । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । छिमेकी प्रदेश सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमण देखिएपछि केन्द्रले कर्णाली एक साता सिल गर्ने निर्णय गरेको हो ।

सामाजिक विकासमन्त्री दल रावलले यो निर्णयपछि कर्णाली पूर्ण रुपमा सिल हुने जानकारी दिए । उनका अनुसार प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पनि खटाइने छ । बैठकले २५ स्थानमा टोली खटाउने निर्णय गरेको भए पनि डोल्पाका दुई स्थान थप गरिएको मन्त्री रावलले बताए । उक्त टोली गाउँपालिकाका केन्द्र, प्रमुख बजार क्षेत्रजस्ता रणनीतिक स्थानमा परिचालन गरिनेछ । स्वास्थ्यकर्मीको टोलीले सम्भावित बिरामीको पहिचान गर्नको लागि स्वाब संकलन, द्रूत परीक्षण (आरडीटी) समेत गर्नेछ ।

स्थानीय तह र प्रदेश सरकारको समन्वयमा पछिल्लो समय उद्धारका नाममा मान्छे ओसारपोसार जारी थियो । यो निर्णयपछि अब आवतजावत ठप्प हुने भएको छ । जिल्ला प्रहरी कार्यालयका सुर्खेतका अनुसार वैशाख १० गते यता मात्रै कर्णालीमा दश हजार ६ सय ४७ जना भित्रिएका छन् । बबई नाका भएर कर्णाली भित्रिएका उनीहरु गाउँगाउँमा पुगिसकेका छन् ।

प्रकाशित मितिः   २२ बैशाख २०७७, सोमबार १६:४६