कोरोना कहरः बाँकेको नतिजाले झस्कियो कर्णाली

किट नहुँदा परीक्षण रोकियो

किट नहुँदा परीक्षण रोकियो

सुर्खेतः छिमेकी जिल्ला बाँकेको नेपालगन्जमा कोरोना संक्रमितको संख्या अचानक बढेपछि कर्णाली प्रदेशमा पनि त्रास बढेको छ । नेपालगन्ज उपमहानगरपालिकामा हिजो एकै दिन १५ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकेमा देखिएको संक्रमणको नतिजाले कर्णालीमा कम्पन ल्याएको छ । सिधा सम्पर्क जोडिएको बाँकेमा कोरोना फैलिएपछि कर्णाली झस्किएको हो । यतिबेला यहाँ कोरोना त्रासको तरंग फैलिएको छ ।

उच्च जोखिम हुँदाहुँदै पनि कर्णाली अहिलेसम्म संक्रमणबाट भने जोगिएको छ । अन्य ६ वटा प्रदेशमा संक्रमण फैलदो क्रममा छ । नेपालमा सोमबार दिउँसोसम्म ७५ जनामा संक्रमण देखिएको छ । संक्रमणको केस नदेखिएपनि कर्णाली सुरक्षित भने छैन । परीक्षणको दायरा निकै न्यून भएकाले कोरोना भित्रिएर पनि नदेखिएको हो कि भन्ने खालका आशंका पनि गर्न थालिएको छ । जनस्वास्थ्य विज्ञहरुका अनुसार दुईसाता पहिले कर्णाली भित्रिएका हजारौं ब्यक्तिको परीक्षण गरेपछि मात्रै यहाँको वास्तविकता बाहिर आउनेछ । तर विडम्बना प्रदेशमा कोरोना परीक्षण किट सकिएको छ । स्वाब संकलन गरेर प्रयोगशालामा ल्याउन आवश्यक पर्ने भीटीएम (भाइरस ट्रान्सफर मिडिया) र संकलित स्वाब परीक्षण गर्ने पीसीआर प्रोसेसिङ किट सकिएका सकिएका हुन् । किट नभएपछि केही दिनयता परीक्षण रोकिएको छ ।

आजसम्म क्वारेन्टाइन बसेका शंकास्पद बिरामीको मात्रै नमूना परीक्षण गरिएको छ । हालसम्म पाँच हजार पाँच सय जनाको आरडीटी र एक हजार जनाको मात्रै पीसीआर परीक्षण भएको छ । वैशाखको पहिलोसातदेखि किट अभाव भएपनि अहिलेसम्म ल्याइएको छैन । सामाजिक विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले परीक्षण किट खरिदको जिम्मा प्रदेश स्वास्थ्य निर्देशनालयलाई दिएको बताए । ‘केन्द्रसँग पनि एक हजार थान किट माग गरेका छौं । आइपुगेको छैन,’ उनले भने । उनका अनुसार प्रदेश सरकारले केन्द्रसँग किट माग गरेको दुईसाता बढी समय भइसकेको छ । किट अभाव भएपछि परीक्षण रोकिएको उनले बताए । प्रवक्ता अधिकारी भन्छन्,  ‘किट नहुँदा परीक्षण लगभग रोकिएको अवस्था छ।’ थ्रोट स्वाबको नमुना संकलन र प्रोसेसिङ गर्ने सामान सकिएपछि केही दिन पहिले प्रदेश अस्पताल सुर्खेत र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएका आरटी पिसिआर मेसिन पनि थन्किएका छन् ।

गत शुक्रबार एक जनामा संक्रमण देखिएको नेपालगन्जमा आइतबारदेखि कोरोना संक्रमण तेस्रो चरण अर्थात समुदायस्तरमा पुगेको छ । तीन दिनमा बाँकेमा संक्रमितको संख्या १६ पुगेको छ । बाँकेसँग प्रत्यक्ष सम्पर्क जोडिएको कर्णालीमा यतिबेला कोरोना परीक्षणको दायरा बढाउनुपर्ने देखिएको छ ।

प्रकाशित मितिः   २२ बैशाख २०७७, सोमबार १४:५७