नेपालगन्जमा एकै दिन नौ जनामा कोरोना संक्रमण
सुर्खेतः बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा एकै दिन नौ जनामा कोरोनाको संक्रमण देखिएको छ । शनिबार ९० जनाको स्वाब संकलन गरिएकोमा ३० जनाको परीक्षण गर्दा नौ जनामा संक्रमण देखिएको हो ।
नियमित मिडिया ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगन्जको प्रयोगशालामा परीक्षण गर्दा पाँच जना पुरुष र चार जना महिलामा कोरोना संक्रमण देखिएको बताए । संक्रमण देखिएका सबै एउटै टोलका हुन् । पर्सा जिल्लाका ३६ वर्षीय एक जना पुरुषमा पनि संक्रमण देखिएको छ ।
नेपालगन्जमा शुक्रबार एक ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । आइतबार पुष्टि भएकामा ७ वर्षीय बालकदेखि ५८ वर्षका छन् । शनिबार संक्रमण देखिएका पुरुष नेपालगञ्ज उपमहानगरपालिका–८ महेन्द्र पार्क टोलका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रवक्ता एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले ६० वर्षिय व्यक्तिबाटै अन्यमा संक्रमण सरेको बताए ।
शुक्रबार कोरोना पुष्टि भएका ती व्यक्ति नेपालगन्ज–५ डिएसपी रोड क्षेत्रका हुन । उनी त्यहाँबाट दैनिक तीन चारपल्ट नमाजको अजान गर्न महेन्द्र पार्कस्थित धार्मिक स्थलमा पुग्ने गर्थे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार कोरोना संक्रमितको संख्या ६९ पुगेको जनाएको छ । आइतबार मात्रै दश जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रकाशित मितिः २१ बैशाख २०७७, आईतवार १७:५९
साझा बिसौनी ।