समाचार टिप्पणी

कर्णालीमा कोरोनाः नभित्रिएको कि नदेखिएको ?

विज्ञ भन्छन्,– अझै दुई साता कुर्नुपर्छ

सुर्खेतः कर्णाली प्रदेश कोरोना संक्रमणबाट आजसम्म जोगिएको छ । यहाँ एक जनामा पनि संक्रमण देखिएको छैन । आइतवार दिउँसो यो समाचार तयार पार्दासम्म नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५९ पुगेको छ । हालसम्म कोरोना संक्रमण पुष्टि भएकामध्ये १६ जना निको भएर घर फर्किएका छन् । कर्णाली बाहेक अरु सबै प्रदेशमा संक्रमित भेटिएका छन् ।

कर्णालीका लागि अहिलेसम्मको नतिजा सुखद छ । यही नतिजालाई आधार मानेर ढुक्क हुने अवस्था भने छैन । लकडाउन जारी रहेकै अवस्थामा संक्रमित क्षेत्रबाट हजारौं मान्छे कर्णाली भित्रिएका छन् । यस हिसाबले संक्रमण नभएरै नदेखिएको भन्न सक्ने स्थिति पनि छैन । अन्य प्रदेशमा कोरोना संक्रमण फैलिदै गएका बेला कर्णालीमा भने कोरोना नभित्रिएको हो कि नदेखिएको ? भन्ने प्रश्न पेचिलो बन्दै गएको छ । लकडाउनका समयमा भएको हेलचक्य्राइँ र लापरबाही नै कर्णालीका लागि अब खतराको घण्टी हुनसक्छ ।

कर्णालीमा क्वारेन्टाइन बसेका शंकास्पद बिरामीको मात्रै नमूना परीक्षण भएको छ । परीक्षणका लागि गाउँ–गाउँमा ‘स्याम्पल’ खोज्ने काम गरिएको छैन । परीक्षणको दायरा बढाएर धेरै व्यक्तिमा पु¥याएको भए सायद ढुक्क हुने अवस्था पनि रहन्थ्यो । तर, यहाँ थोरै परीक्षण गरेर थोरै ढुक्क भएको अवस्था देखिन्छ । हालसम्म पाँच हजार पाँच सय जनाको आरडीटी र एक हजार जनाको मात्रै पीसीआर परीक्षण भएको छ ।

लकडाउनको सुरुदेखि नै कोरोना संक्रमण प्रतिकार्यमा हेलचक्य्राइँ गरेको कर्णाली सरकारलाई लकडाउनकै बेला मान्छे ओसार्ने चटारो भयो । मान्छे गाउँ पठाउन विभिन्न ठाउँमा सम्पर्क व्यक्ति खटाइयो । सामाजिक सञ्जालमा सार्वजनिक सूचना नै जारी गरियो । प्रदेशका मन्त्री, सांसद र स्थानीय तहहरूले त्यसको अगुवाइ गरे । अलपत्र नागरिकको उद्धारका नाउँमा सहरमा बसेका मान्छे गाउँ पठाइयो । संक्रमण देखिएका ठाउँबाट आएका केही बाहेक अधिकांशलाई विना चेकजाँच प्रदेश भित्र्याइयो । प्रहरी तथ्याङ्क भन्छ,– लकडाउनकै अवस्थामा एकै दिन झण्डै तीन हजारसम्म मान्छे सुर्खेतको बबई नाकाबाट गाडीमा कर्णाली भित्रिए ।

भारतमा संक्रमण फैलिएपछि स्वदेश फर्किएका र देशका विभिन्न ठाउँमा संक्रमण देखिएपछि त्यहाँबाट प्रदेश भित्रिएका व्यक्ति कर्णालीका लागि पहिलो संक्रमणका आशंकित हुन् । भारतमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि रोजगारीका लागि त्यहाँ रहेका कर्णालीवासी धमाधम घर फर्किए । जो खुलेआम गाउँ घुमिरहेका छन् । पछिल्लो समय संक्रमित क्षेत्रबाट आएका सबै व्यक्तिको नमूना परीक्षण विना कर्णालीमा संक्रमण छैन भनेर ठोकुवा गरिहाल्नु उचित हुँदैन । भारतसँग कर्णालीको सम्पर्क बढी हुने भएकाले पनि अन्य प्रदेशभन्दा कर्णाली त्यसै पनि बढी जोखिममा छ ।

त्यसरी आएकामध्ये कसैले संक्रमण ल्याएकै भए पनि लक्षण देखिन आधा महिना अर्थात् १४–१५ दिनसम्म लाग्छ । कुनै लक्षणविना पनि कोरोना पोजेटिभ देखिएका उदाहरण पनि छन् । विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘कुनै प्रष्ट लक्षण नदेखिएकाहरूलाई पनि कोरोना संक्रमण भएको भेटिएको छ ।’ चिकित्सकहरूका अनुसार संक्रमित व्यक्तिमा लक्षण नदेखिँदै उसले अरुलाई भाइरस सार्ने जोखिम पनि उत्तिकै रहन्छ । यदि कर्णालीमा पनि यसरी नै संक्रमण भित्र–भित्रै फैलिएको रहेछ भने !

कर्णालीमा कोरोना संक्रमण देखिहाल्यो र माहामारीकै रूप लियो भने अवस्था के होला ? सामान्य असावधानीले फैलिने झाडापखालासमेत नियन्त्रण गर्न नसक्ने यहाँको विद्यमान स्वास्थ्य संरचनाले विश्वलाई नै त्रसित पारिरहेको कोभिड–१९ नियन्त्रण गर्न सक्ने अवस्था पक्कै छैन । महामारी नियन्त्रण गर्ने सामथ्र्य नभएकाले पनि सरकारको ध्यान सतर्कता र सचेतनामै जानुपथ्र्यो । जुन गम्भीरता पटक्कै देखिदैन । स्थानीय तहदेखि प्रदेश सरकारसम्मले राहत संकलन र मान्छे ओसार्ने कामलाई नै बढी प्राथमिकता दिएका छन् । कोरोना भित्रिन नदिन प्रदेश सरकारको तयारी कमजोर छ । पर्याप्त छैन ।

गत चैत २५ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय नम्बर ४ मा भनिएको छ, ‘ठूलो संख्यामा भारतलगायत अन्य देशहरूबाट आएका कर्णाली प्रदेशका नागरिकहरूमा कोभिड–१९ को संक्रमण भएको हुन सक्ने तथा एक–अर्को व्यक्तिमा संक्रमण फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गरी द्रूत गतिमा परीक्षण आवश्यक देखिएको हुँदा घुम्ती प्रयोगशाला परीक्षण सेवाको तत्काल व्यवस्थापन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने ।’ यसबाट के प्रष्ट हुन्छ भने प्रदेश सरकार संक्रमितसम्म पुग्न सकेको छैन । सरकारलाई आशंका छ कोरोना संक्रमण कतै गाउँ–गाउँमा पुगेको त छैन ? त्यसैले भएका परीक्षणले मात्र सन्तोष मान्ने ठाउँ नभएपछि प्रदेश सरकारले संघलाई गुहारेको हो । जनशक्ति र उपकरणको अभावमा केही व्यक्तिमा मात्रै पुगेको कोरोना परीक्षण बढाएर प्रदेशभर नपु¥याएसम्म ढुक्क हुने अवस्था पक्कै छैन । गाउँमा जोखिम बढी रहेको औंल्याएको प्रदेश सरकारले त्यसतर्फ सतर्कता अपनाएको भने देखिदैन ।

कोभिड–१९ प्रतिकार्यमा लापरबाही गरिरहेको प्रदेश सरकाले पछिल्लो पटक हद पार गरेको छ । लकडाउन खुकुलो बनाउने निर्णय त्यसको एउटा उदाहरण हो । गत साता प्रदेश विपद् व्यवस्थान केन्द्रको बैठकले प्रदेशभित्रका सबै सरकारी कार्यालय सञ्चालन गर्ने, अलपत्र व्यक्तिको उद्धार र कृषिकार्यको सन्दर्भमा लचिलो निर्णय लिएपछि लकडाउनको अवज्ञा झनै बढ्यो । यो निर्णयपछि मन्त्री र सांसदहरूबीच आफ्नो जिल्ला र निर्वाचन क्षेत्रका नागरिक गाउँ पठाउने होडबाजी नै चल्यो । सहरी क्षेत्रबाट गाउँ फर्किनेको लर्काे लाग्यो । लकडाउनअघि र त्यसपछि पनि कर्णाली सरकारकै सहयोगमा संक्रमण देखिएका ठाउँबाट मान्छे ओसारेर प्रदेश प्रवेश गराइयो । तीमध्ये अधिकांश व्यक्ति विना चेकचाँज गाउँ पसेका छन् । क्वारेन्टाइन बसेका छैनन् । कोभिड–१९ रोकथाम तथा नियन्त्रण कार्यमा लाग्नुपर्ने जनप्रतिनिधि नै मान्छे ओसार्ने काममा सक्रिय भएपछि संक्रमणको जोखिम झनै बढेको छ । गाउँ भित्रिएका मान्छेलाई उनीहरूले क्वारेन्टाइनमा भन्दा घरमै बस्न सघाइरहेका छन् ।

कर्णालीका दशवटै जिल्लामा स्थानीय तह र प्रदेश सरकारले बनाएका क्वारेन्टाइनको क्षमता तीन हजार सात सय २२ बेड रहेको छ । उद्धारपछि आउनेको संख्यालाई क्वारेन्टाइको क्षमताले धान्ने अवस्था छैन । कमजोर स्वास्थ्य प्रणाली भएको कर्णाली प्रदेशले कोरोना संक्रमण फैलिए नियन्त्रण गर्न गाह्रो हुने भन्दै कतिपय स्थानीय सरकारले लकडाउन खुकुलो बनाउने प्रदेश सरकारको निर्णयले परिणाम घातक हुने औंल्याए । तर, आफ्नो पालिकाका अलपत्र नागरिकलाई उद्धार गरेको भन्दै लकडाउनकै अवधिमा उनीहरूले पनि लर्को लगाएरै मान्छे ओसारे ।

दुई साता कुर्नुपर्छ
कर्णालीमा कोरोना छैन भनेर ढुक्क हुन अझै कम्तीमा दुई साता कुर्नुपर्ने चिकित्सक र जनस्वास्थ्य विज्ञहरूले बताएका छन् । वैशाख पहिलो र दोस्रो साता अन्य प्रदेशबाट आएर क्वारेन्टाइन बसेका सबै व्यक्तिहरूको रिपोर्ट नेगेटिभ नआउञ्जेल ढुक्क हुने अवस्था नरहेको उनीहरूको भनाइ छ । प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले अन्य प्रदेशको तुलनामा कर्णालीमा परीक्षण राम्रोसँग भए पनि अझै ढुक्क हुने अवस्था नरहेको बताए । उनी भन्छन्, ‘अहिले पनि अन्य जिल्लाबाट उद्धार गरेर ल्याइएका कतिपय व्यक्तिहरूको परीक्षण गर्न बाँकी छ । परीक्षण जति धेरै व्यक्तिमा पुग्न सक्यो उति जोखिम कम हुने हो ।’ अहिलेसम्मको सतर्कता सन्तोषजनक भए पनि प्रदेशमा कोरोनाको अवस्था थाहा पाउन अझै दुई हप्ता कुर्नुपर्ने उनले बताए । ‘परीक्षण सामग्रीको अभाव छ । अझ धेरै परीक्षण गर्न पाए हुन्थ्यो,’ उनले भने ।

अहिले कर्णालीमा कोरोनाको संक्रमण नभित्रिएको होला कि नदेखिएको होला भन्नेबारे चर्चा हुन थालेको छ । कर्णाली प्रदेशका स्वास्थ्य निर्देशक रीता भण्डारीले पनि अरु प्रदेशको तुलनामा कर्णालीमा कोरोनाको परीक्षण राम्रो भएको दावी गरिन् । उनले प्रदेशका सबै ठाउँ कभर हुने गरी कोरोना परीक्षणको प्रबन्ध मिलाइको भन्दै कर्णालीमा संक्रमण नभएरै नदेखिएको बताइन् । ‘लकडाउनको अवधिमा भित्रिएका मान्छेका कारण जोखिम भने अवस्यै बढेको छ,’ उनले भनिन्, ‘अब आवतजावत बन्द गरेर समस्या नआउने रणनीतितर्फ प्रदेश सरकार लाग्नुपर्छ ।’ संक्रमण फैलिएको क्षेत्रबाट आएका मानिसहरू र उनीहरूको प्रत्यक्ष सम्पर्कमा रहेकाहरूको जाँच भइरहेको उनले बताइन् । पछिल्लो साता कर्णाली प्रवेश गरेका व्यक्तिहरू पनि क्वारेन्टाइनमा रहेको र उनीहरूको चेकजाँच भइरहकाले केही दिनभित्र कोरोना संक्रमण आए /नआएको प्रष्ट हुने उनको भनाइ छ ।

कर्णालीमा कोरोना संक्रमण फैलिएको छैन भन्दा पनि ठूलो संख्यामा जाँच नभएकाले नभेटिएको हो कि भन्ने प्रश्न पनि उब्जिएको छ । जनस्वास्थ कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जिल्लाका सबै स्थानीय तहसम्म पुगेर संक्रमित आशंकाका व्यक्तिहरूको परीक्षण गरिएको बताए । ‘यहाँ कोरोना नभएरै नदेखिएको हो,’ उनी भन्छन्, ‘आवश्यक स्थानमा सतर्कता र बाहिरबाट आएका व्यक्तिको चेकजाँच भइरहेकै छ । अझै ढुक्क हुने अवस्था भने छैन । त्यसका लागि वैशाख अन्तिमसम्म कुर्नैपर्ने हुन्छ ।’ पछिल्लो साता ‘हाइरिक्स जोन’बाट आएका व्यक्तिको परीक्षणपछि मात्रै ढुक्क हुन सकिने भन्दै उनले प्रदेशवासीमा देखिएको त्रास पनि कम हुने बताए ।

के छ अबको रणनीति ?

दल रावल मन्त्री, सामाजिक विकास

सामाजिक विकास मन्त्री दल रावलले कोरोना संक्रमण फैलन नदिन बाहिरबाट आएका व्यक्तिहरूलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परीक्षणपछि मात्र घर पठाउने व्यवस्था गरिएको बताए । उनका अनुसार संक्रमित भेटिए उक्त ठाउँलाई सिल गरेर बिरामीलाई त्यहीँ गएर उपचार गर्नेगरी सरकारले रणनीति बनाएको छ । आइसोलेसनमा राख्नुपर्ने खालका बिरामीलाई भने तोकिएका अस्पतालमा ल्याइने छ ।

६ वटा प्रदेशमा कोरोना संक्रमण फैलिसक्दा कसरी जोगियो कर्णाली ? भन्ने हाम्रो जिज्ञासामा मन्त्री रावलले भने, ‘अहिलेसम्म सतर्कता अपनाएकै कारण संक्रमण नभित्रिएको हो ।’ जिल्ला अस्पतालहरूलाई स्तरोन्नति गरेर प्रत्येकमा पाँच वटा बेडसम्मका आइसोलेसन बनाउन लागिएको उनले जनाए ।

पछिल्लो समय प्रदेश बाहिर र प्रदेशभित्रकै सहरी क्षेत्रमा अप्ठेरोमा परेका नागरिकलाई उद्धार गर्नैपर्ने अवस्था आएकाले गाडी तथा हवाई मार्गबाट सम्बन्धित स्थानमा पठाउने काम गरिएको उनले बताए । थ्रोट स्वाबको नमुना संकलन र प्रोसेसिङ गर्ने सामानको अभाव हुन नदिने गरी केन्द्र सरकारसँग माग गरिएकाले परीक्षणलाई धैरै भन्दा धेरै संख्यामा पु¥याउने योजना बनाइएको उनको भनाइ छ ।

प्रकाशित मितिः   २१ बैशाख २०७७, आईतवार १४:४७