लकडाउनको स्वरुप फेरिने
काठमाडौंः सरकारले लकडाउनको स्वरुप बदल्ने भएको छ । वैशाख २५ गते पछि लकडाउनको स्वरुप बदल्न लागिएको हो । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको स्वरुप बदल्नेबारे आवश्यक रणनीति तयार पार्ने निर्णय गरेको छ ।
मन्त्री घनश्याम भुसालका अनुसार लकडाउनको स्वरुप फेर्ने गरी आन्तरिक गृहकार्य अघि बढाउनेबारे मन्त्रिपरिषद्मा चर्चा भएको छ । ‘कोरोना फैलिएको अहिलेको अवस्थालाई हेरेर देशभित्र लकडाउनको स्वरुप फेरिन सक्छ’, भुसालले भने, ’त्यसका लागि स्वास्थ्य मन्त्रालयसहितले आवश्यक गृहकार्य गरिरहेका छन् । थप निर्णय चाँडै हुनेछ ।’
लकडाउनकै कारण कोरोनाको जोखिम बढ्न नपाएको निचोडसहित मन्त्रिपरिषद्ले तत्काललाई अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान भने नखोल्ने निचोड निकालेको छ । ‘अहिलेलाई अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान खुलाउनेबारे कुनै छलफल भएको छैन । त्यसबारेमा सरकारले सोचेको पनि छैन’, मन्त्री भुसालले भने, ‘अन्तर्राष्ट्रिय सीमा नाकामा अझै कडाइ गर्ने निर्णय भएको छ ।’
सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्न कोरोना संक्रमणको अवस्था हेरेर गाढा रातो, रातो, पहेंलो र हरियोसहित चार जोन बनाउने भएको छ । लकडाउन खोल्न जिल्लाहरुमा देखिएको जोखिमको आधारमा गाढा रातो, रातो, पहेंलो र हरियो गरी चारवटा सूचकमा बाँड्ने र त्यसैको आधारमा क्रमशः अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्याउन लागिएको हो । स्वास्थ्य मन्त्रालयले बनाएको मस्यौदामा अतिउच्च र उच्च जोखिमलाई पूर्ण लकडाउन गर्ने र सामान्य जोखिमलाई आंशिक रुपमा बन्दाबन्दी गर्ने उल्लेख छ ।
प्रकाशित मितिः २१ बैशाख २०७७, आईतवार १३:५७
साझा बिसौनी ।