प्रदेश सरकारलाई ‘थर्मल गन’ सहयोग
सुर्खेतः रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहेका कर्णालीका युवाहरुले कर्णाली प्रदेश सरकारलाई ‘थर्मल गन ’प्रदान गरेका छन् । कर्णाली प्रदेश समाज दक्षिण कोरियाले कर्णालीका लागि एक सय दश थान ‘थर्मल गन’ (ज्वरो मापन गर्ने मेसिन)दिएका हुन् । शनिवार मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावललाई थर्मल गन हस्तान्तरण गरिएको हो ।
सुर्खेत समाज दक्षिण कोरियाका पूर्व पदाधिकारी गणेश अधिकारी, लक्ष्मीप्रसाद ढकाल र कर्णाली प्रदेशका लागि वितरण गरिएका थर्मल गन अनुगमन समितिका संयोजक नगेन्द्र उपाध्यायले मुख्यमन्त्री कार्यालयमै पुगेर हस्तान्तरण गरेका थिए ।
महामारीका बेला आफ्नो कमाईबाट सामाजिक सेवा गरेको भन्दै मुख्य मन्त्री शाहीले कर्णाली प्रदेश समाज दक्षिण कोरियाले दिएका सामग्रीलाई कोरोना माहामारी नियन्त्रणका लागि सदुपयोग गरिने प्रतिवद्धता जनाए ।
सामाजिक विकास मन्त्री दल रावलले केन्द्र सरकारले पठाएको सामग्रीले केही राहत भएपनि ज्वरो नाप्ने थर्मल गन भने पर्याप्त नभएको अवस्थामा समाजले गरेको सहयोग महत्वपूर्ण भएको औंल्याए । समाजले दिएको १ सय १० थान ‘थर्मल गन’मध्ये सुर्खेतमा १६, रुकुम पश्चिममा १२, सल्यानमा १३, कालिकोटमा ११, मुगुमा ६, दैलेख १४, हुम्लामा ९, डोल्पामा ९, जुम्लामा ११ र जाजरकोटमा ९ वटा दिइनेछ ।
प्रकाशित मितिः २० बैशाख २०७७, शनिबार २०:५५
साझा बिसौनी ।