हुम्लाका नागरिकलाई हवाई मार्गबाट उद्धार
सुर्खेतः लकडाउनका कारण सुर्खेत र नेपालगञ्जमा अलपत्र परेका हुम्लाका नागरिकलाई हवाई मार्गबाट उद्धार गर्न थालिएको छ । कर्णाली प्रदेश सरकारको पहलमा राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाका नागरिकलाई हवाई मार्गबाट उद्धार गरिएको हो । लकडाउनअघि कामको सिलसिलामा सुर्खेत र नेपालगञ्ज आएका व्यक्तिलाई आजदेखि प्रदेश सरकारको पहलमा जिल्ला पु¥याउन लागिएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्द सिंह बुढाले खान बस्न समस्या हुन थालेपछि उनीहरुलाई जिल्ला पठाउन पहल गरिएको बताए । हवाई भाडा भने यात्रुु आफैंले तिर्नुपर्ने छ । प्रदेश सरकारले एयरलाइन्ससँग समन्वय गरेर जेष्ठ नागरिक, पूर्ण अपाङ्गता भएका व्यक्ति र विद्यार्थीहरुलाई ५० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ ।
उद्धार गरेर पठाइएका व्यक्तिहरुलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राख्नका लागि समन्वय भएको सामाजिक विकास मन्त्री दल रावलले बताए । उनका अनुसार सुर्खेत विमान स्थलबाट आज बिहान ५० जनालाई हुम्ला पु¥याइसकिएको छ । ‘यहाँबाट पठाइएका सबैलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्न सम्बन्धित स्थानीय तहलाई भनेका छौं,’ उनले भने, ‘१४ दिनसम्म क्वारेन्टाइन राखेर कोरोना परीक्षण पछि मात्र घर पठाउने व्यवस्था हुन्छ ।’
प्रकाशित मितिः २० बैशाख २०७७, शनिबार १४:११
साझा बिसौनी ।