‘चुनाव नभए मुलुक दुर्घटनामा पर्छ’

साझा बिसौनी संवाददाता
सुर्खेत, २५ भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आगामी चैत महिनामा नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने तमसुक गरेर बनेको प्रचण्ड नेतृत्वको सरकारबाट कुनै अपेक्षा गर्न नसकिने टिप्पणी गरेका छन् । शनिवार वीरेन्द्रनगमार भएको पत्रकार भेटघाटनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
संविधान जारी भएर संसदको निर्वाचन हुने दुई वर्षको अवधिमा तीन वटा सरकार बन्नु संविधानको औचित्यमाथि प्रश्न खडा गर्नु भएको उनको तर्क थियो । ठूला भनिएका दलहरूले आफूले जे गरे पनि हुन्छ र जनताले स्वीकार्छन् भन्ने भ्रममा रहेको भन्दै त्यसलाई सच्याउन आग्रह गरे । ठूला दलहरूले जनतालाई आफ्नो दासको रूपमा प्रयोग गर्ने गरेको आरोप लगाए । यस्तो मानसिकताबाट मुक्त हुन समेत उनले आग्रह गरे । मधेसको समस्या नेपालको आन्तरिक मामिला भएकाले त्यसको समाधान पनि नेपालीले नै गर्नसक्ने थापाले बताए ।
मधेसको समस्या समाधानको लागि राप्रपा नेपाल सधैं सकारात्मक रहेको उल्लेख गदै उनले समस्या समाधान हुन्छ भने संविधान संशोधनको लागि आफूहरू तयार रहेको बताए । थापाले संविधान संशोधनको लागि सत्तारुढ दलहरू नै जिम्मेवार रूपमा प्रस्तुत नभएको आरोप लगाए । आगामी चैत्र महिनामा स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा जोड दिदै थापाले चुनाव नभए संविधान कार्यान्वयन नहुने बताए । ‘यदि चुनाव भएन भने संविधान सङ्कटमा पर्छ, मुलुकमा ठूलो दुर्घटना हुन्छ, त्यसले के कति क्षति गर्छ त्यो म अहिले नै भन्न सक्दिन’ थापाले भने ।
प्रशिक्षणका लागि दैलेख जाने क्रममा सुर्खेत आइपुगेका अध्यक्ष थापासहित राप्रपा नेपालका उपाध्यक्ष धवलशमशेर राणा, सहमहामन्त्री मुकुन्द्रश्याम गिरी, सुर्खेतका अध्यक्ष मानबहादुर खड्का लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २६ भाद्र २०७३, आईतवार ०९:०२