स्थानीय निकायको टुङ्गो, अब यस्तो बन्नेछ सुर्खेत

14237697_1108085852607621_7757997717380138581_nसाझा बिसौनी संवाददाता
सुर्खेत, २५ भदौ ।
सुर्खेतमा चार गाउँपालिका र चार नगरपालिका हुने गरी स्थानीय तहको टुङ्गो लगाइएको छ । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले यसअघि प्रस्ताव गरेको खाकाको सीमाङ्कनमा केही हेरफेर गरी स्थानीय तहको टुङ्गो लगाएको हो ।
शनिवार वीरेन्द्रनगरमा कार्यशाला गोष्ठीको आयोजना गरी अन्तिम खाका सार्वजनिक गरिएको हो । समितिले सुरुमा पाँच गाउँपालिका र तीन नगरपालिकासहितको प्रारम्भिक खाका प्रस्ताव गरेको थियो । उक्त खाकामाथि सरोकारवालाहरूसँग पटक–पटक छलफल गरी अन्तिम रूप दिइएको हो । स्थानीय तहको सीमाङ्कनका साथै नामाङ्कन पनि टुङ्गो लगाइएको स्थानीय विकास अधिकारी एवम् प्राविधिक सहयोग समितिका संयोजक हिरालाल रेग्मीले जानकारी दिए । जिल्लास्तर र गाउँतहमा गरिएका अन्तरक्रियाहरूबाट आएका सुझावहरूलाई मध्येनजर गरी आठ वटा तहको अन्तिम खाका तयार पारिएको उनले बताए ।
जनसंख्या, भौगोलिक अवस्था, स्रोत र साधनको उपलब्धता तथा जनताको सहजतालाई ख्याल गरेर स्थानीय तह निर्धारण गरिएको जनाइएको छ । २०६८ सालको जनगणना अनुसार सीमाङ्कन आयोगले तोकेको मापदण्डका आधारमा विभाजनको प्रस्ताव गरिएको हो । आयोगले तोकेको मापदण्डभित्र रही जिल्ला प्राविधिक समितिले अन्तिम तयारी गरेको हो । आयोगले जिल्ला प्राविधिक समितिको कार्यअवधि केही समय थप गरी तत्काल प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो र सोही अनुसार शनिवारको अन्तिरक्रियमा आएका सुझावहरूलाई समेटी अन्तिम खाका आयोग समक्ष प्रस्तुत गरिने संयोजक रेग्मीले जानकारी दिए ।
प्रस्तावित आठ तहमा यहाँका राजनीतिक दलहरू सहमत हुनसकेका थिएनन् । उनीहरूले स्थानीय तहको संख्या वृद्धि गर्नुपर्ने माग गर्दै आएका थिए । यद्यपि केही साना दलबाहेक अन्य दलहरू अन्तिममा सहमतिमा आएको संयोजक रेग्मीले बताए । ‘जिल्लामा ८ वटा स्थानीय तह बनाउने र त्यसको नामाकरण गर्ने विषयमा विषयमा करिब सर्वसम्मत् टुङ्गिएको छ’ उनले भने । तर केही साना दलहरूले भने, आफूहरूले जनसंख्यालाई मात्र आधार नमान्न आग्रह गरे पनि आयोगको मापदण्डका कारण जबरजस्ती आठ वटामै सीमित पारिएको भन्दै विमति जनाएका छन् ।
समितिले तयार पारेको अन्तिम खाका अनुसार केही गाविसका वडाहरू भने अर्को गाउँपालिकामा समावेश गरिएको छ । पहिलेका छलफलहरूमा पायक पर्ने गाउँपालिकामा गाभ्ने सुझाव आएपछि भूगोल र सेवा सुविधाको पहुँचका आधारमा केही वडाहरूलाई मिलाइएको बताइएको छ । स्थानीय निकाय पुनर्संरचना आयोगले नामकरणको विषयमा समेत सुझाव माग्न निर्देशन दिएपछि वीरेन्द्रनगर नगरपालिकाको नाम समेत काँक्रेविहार नगरपालिका बनाउनुपर्ने सुझाव दिइएको छ । नामकै विषयमा विवाद भन्दा पनि पहिलेको भन्दा परिवर्तन गरेर सिफारिस गर्नुपर्ने सुझाव अनुसार शुभाघाट गंगामाला नगरपालिकालाई गुर्भाकोट नगरपालिका प्रस्ताव गरिएको छ ।
अब सुर्खेत जिल्लामा हुने आठ वटा तहको नाम पनि सर्वसम्मत् रूपमा टुङ्गिएको छ । जस अनुसार चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका, बराह गाउँपालिका, वीरेन्द्रनगर नरपालिका, चिङ्गाढ गाउँपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिका नामकरण गर्ने गरी अन्तिम टुङ्गो लगाइएको हो । यस्तै, गाउँपालिका र नगरपालिका भित्रका वडा संख्या पनि सर्वसम्मत् रूपमा विभाजन गरिएको छ । यस्तै, केन्द्र बनाउने विषयमा शनिवारको अन्तिम गोष्ठीमा पनि केही विवाद आएको थियो । सोही कारणले दुईवटा स्थान मध्ये कुनै एउटा बनाउनेमा विकल्पसहित प्रस्ताव गरिएको छ । चौकुने गाउँपालिकाको केन्द्र बिजौरा वा गुटु मध्ये एक, पञ्चपुरी नगरपालिकाको केन्द्र सालकोट र बावियाचौरको बीचमा पर्ने बावियाचौर–५ मा राख्ने सर्वसम्मत् निर्णय भएको छ । यस्तै, बराह गाउँपालिकाको केन्द्र बड्डिचौर बजार वा ओदालतालमध्ये कुनै एक हुनुपर्ने, वीरेन्द्रनगर नगरपालिकाको केन्द्र हालकै स्थान, भेरीगंगा नगरपालिकाको केन्द्र रामघाट र छिन्चुको बीचमा पर्ने राताचौर, गुर्भाकोट नगरपालिकाको केन्द्र हालकै दहचौर–६ मा राख्ने सर्वसम्मत् निर्णय भएको छ । चिङ्गाढ गाउँपालिकाको केन्द्र अवलचिङ वा पाम्का–७ को पूर्णे र सिम्ता गाउँपालिकाको केन्द्र बजेडीचौर–७ पातीहाल्ना, बजेडीचौर ३ र ४ को आली वा राकम–३ को जामुनेबजार मध्ये कुनै एक हुनुपर्ने सुझावसहित निर्णय भएको छ ।

प्रकाशित मितिः   २६ भाद्र २०७३, आईतवार ०९:००