पाँच सन्तानका पिता मानसिंह, थला पर्दा कोही ५ैन साहारा

14199680_1122985407776030_2664536976418906856_nबिर्ख बडुवाल
सुर्खेत, २४ भदौ ।
बेतान–९ जामुनेका मानसिंह रामजालीका पाँच सन्तान छन् । दुई छोरा र एक छोरी । तर यतिबेला उनै मानसिंह रोगले च्यापेर थला पर्दा भने साहाराविहीन हुन पुगे । उनको बेग्लै कथा छ, जसले अरुको मन पनि चसक्क बनाउँछ ।
उनका दुई छोरामध्ये एक नेपाली सेना थिए, लालबहादुर रामजाली मगर । लालबहादुरले एक्कासी नेपाली सेना छोडेर तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनामा भर्ती भए । एम–१६ हतियार ल्याएर जनमुक्ती सेनामा प्रवेश गरेका लालबहादुरको त्यतिबेला माओवादीले खुब प्रशंसा ग¥यो । माओवादी निकट रेडियो र पत्रपत्रिकामा उनको ‘बहादुरी’ को गाथा छापिए । उनलाई जनमुक्ति सेनाले अविरमाला लगाएर स्वागत ग¥यो । गाउँमा त्यतिबेला भनियो छोरा हुनु त लालबहादुर जस्तो, बुबा हुनु त मानसिंह जस्तो ।
घरमा मान सिंहलाई भेट गर्नेको ओइरो लाग्यो । सानो झुपडीमा पाहुना राख्न पनि धौ–धौ भयो । भन्न थालियो ‘बुबा तपाईंले असल छोरा जन्माउनु भएछ, जनताको मुक्तिका लागि तपाईंका छोराले अङ्गालेको बाटो सही छ । सायद तपाईंका छोरा जस्तै अरुले पनि समयमै कुरा बुझिदिएको भए जनताको शासन चाँडै आउने थियो । अब दुःखका दिन चाँडै अन्त्य हुनेछन् ।’ सुनेर मानसिंह फुरुङ्ग भए । उनलाई पनि लाग्ने गथ्र्यो, ‘धेरैका छोरामा मेरो छोरा उत्कृष्ट नै रहेछ । मेरो झुपडीमा जन्मिएको मेरो छोराले अब कुनै दिन म लगायत सारा गरीबको दुःख हटाउन मुख्य भूमिका खेल्नेछ ।’ असल छोराको बाबु बन्न पाएकोमा गर्व लाग्यो मान सिंहलाई । अर्कोतिर नेपाली सेनाबाट ‘विद्रोह’ गरी आएका लालबहादुरको स्वागतमा जम्मा भएका तथा रेडियो सुन्ने र पत्रपत्रिका पढ्नेहरू पनि सोच्न थाले ‘मानिस हुनु त लालबहादुर जस्तो ।’
त्यतिबेला धेरै युवा युवतीका लागि युद्धमा लाग्न प्रेरणाका स्रोत बने लालबहादुर । जनमुक्ति सेनाको मनोबल उच्छ भयो । उनीहरूले सोचे, अब यसैगरी दिन प्रतिदिन सरकारी सेना तथा प्रहरी विद्रोह गरी आउनेछन् । लडाईंले नयाँ मोड लिनेछ र राज्य सत्ता चाँडै कब्जा हुनेछ ।’ लालबहादुरले ल्याएको नयाँ हतियार प्रदर्शन गरियो । ठाउँ–ठाउँमा जनसभा गरिए । ‘अब आन्दोलनमा लागौं, जागौं जनताहरू’ भन्दै हिँडे लालबहादुर पनि ।
राजतन्त्रको अन्त्य भयो र गणतन्त्रको स्थापना । मुलुक शान्ति प्रक्रियामा आएको एक दशक पुगिसकेको छ । त्यो युद्ध र यो शान्ति प्रक्रियाबीच फरक यति हो कि जनयुद्धमा लालबहादुरको बुबा भएकोमा गर्व गर्ने ६० वर्षीय मान सिंह अहिले पेटको रोगले थलापरेका छन् । घरमा ५ रोपनी सुख्खा बलौटे पाखोबारी बाहेक केही छैन । पाँच सन्तानका पिता उनलाई उपचारका लागि अस्पतालसम्म लगिदिने पनि कोही भएन ।
दुई छाक टार्नै मुस्किल छ । वृद्ध अवस्थाका लोग्ने स्वास्नी मजदुरी गर्न पनि नसक्ने अवस्थामा पुगेका छन् । साथमा छोराछोरी कोही पनि छैनन् । बाँच्ने रहर भएरै पनि थला परेर छट्पटाइरहेका मानसिंह यतिबेला केही छरछिमेकीको सहयोगमा अस्पतालसम्म आइपुग्न पाएकोमा खुशी छन् । छिमेकी र केही सहयोगी मनहरू मिलेर शुक्रवार उनलाई उपचारका लागि सदरमुकाम वीरेन्द्रनगरमा ल्याइएको छ ।
अस्पतालको बेडमा पल्टिरहँदा उनी सम्झिरहेछन् ‘हामी पनि हजुरकै छोरा छोरी नै त हौ नि बुबा’ भन्दै हुल बाँधेर आउने लडाकुहरू । जसलाई खाना पकाएर खुवाउँथे उनी । आफ्नै सन्तान जस्तै लाग्थ्यो सबै । तर अहिले उनका त्यति धेरै छोराछोरीहरू कहाँ छन्–छन् । अरुको त कुरै छोडौं उनका आफ्नै दुई छोरा समेत सम्पर्कमा
छैनन् । छोरीहरू घरवार गरी गइसके । उपचारका लागि उनीसँग पैसा छैन । कसैले सहयोग गरिदिए उनको उपचार हुनसक्छ । उनी भन्छन्, ‘अब त बेच्नलाई पनि केही बाँकी छैन, कसरी होला र उपचार ?’