कानुन सम्बन्धी अभिमुखीकरण
दैलेख, २४ भदौ । (साबिस)
जिल्ला कानुनी सहायता समिति कानुनी सहायता केन्द्र दैलेखको आयोजनामा दैलेख जिल्लास्थित ७ वटा गाविस र नारायण नगरपालिकाका सामाजिक परिचालक र नागरिक सचेतना केन्द्रका पदाधिकारीहरूलाई कानुन सम्बन्धी १ दिने अभिमुखीकरण प्रशिक्षण दिइएको छ ।
उक्त प्रशिक्षण कार्यक्रमका सहजकर्ता गंगाराम दाहालले सामाजिक परिचालकको अवधारणा र रणनीतिसँगै कार्यक्षत्र र सामाजिक कार्यविधि विषयमा प्रष्ट पारेका थिए ।
प्रशिक्षक समेत रहेका अधिवक्ता दीपेन्द्र थापाले कानुनी सहायताका विषयमा विपन्न वर्गलाई कानुनी बाटो देखाउनमा सामाजिक परिचालकले सेवाग्राहीका पीडाउन्मुख कार्यमा सघाइ उनीहरूलाई कानुनी प्रक्रियामा जाने गोरेटो देखाउनपर्ने बताए । दैलेख जिल्लाका लाँकुरी, बेलपाटा, रावतकोट, गमौडी, खरीगैरा, भवानी र विन्ध्यावासिनी गाविसका सामाजिक परिचालक र नारायण नगरपालिकाका नागरिक सचेतना केन्द्रका गरी जम्मा १८ जनालाई उक्त प्रशिक्षण दिइएको हो ।
साझा बिसौनी संवाददाता ।