वीपीको सम्झनामा विविध कार्यक्रम

साझा बिसौनी संवाददाता
सुर्खेत, २४ भदौ ।
नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको १०३ औं जन्मजयन्ती शुक्रवार सुर्खेतमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । वीपी चिन्तन प्रतिष्ठान शाखा सुर्खेतले चियापान कार्यक्रम गरी दिवस मनाएको छ ।
चियापान कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष सुशीलराज शर्माले वीपीले देखाएको बाटोलाई नेपाली कांग्रेसका कार्यकर्ताले सधंै अनुशरण गर्नुपर्ने बताए । वीपीले नेपालको लागि नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध मात्रै नभइ भारतको स्वतन्त्रताका लागि समेत सङ्घर्ष गरेको पाठ कांग्रेसले सिक्नुपर्ने धारणा राखे । प्रतिष्ठानका उपाध्यक्ष दुर्गाप्रसाद सापकोटा, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य रामबहादुर सिंह, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हरि शर्मा, प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष रूपेश खत्री, सचिव गीता ढकाल लगायतको सहभागिता रहेको थियो । यस्तै प्रजातान्त्रिक विचार समाज सुर्खेतले शुक्रवार बिहान चियापानको आयोजना गरेर मनाएको छ । कार्यक्रमका सहभागीहरूले वीपीको विचारमा पार्टी हिँड्नुपर्ने सुझाव दिएका छन् । प्रजातान्त्रिक विचार समाजका अध्यक्ष महेन्द्रकुमार कार्कीको अध्यक्षता एवम् कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मप विश्वविद्यालयका पूर्व डीन पीताम्बर ढकाल, कांग्रेस कोषाध्यक्ष अनन्त पौडेल, क्षेत्रीय सभापति नारायण कोइराला लगायतको सहभागिता थियो ।
यसैबीच सुर्खेतमा पहिलो पटक बिहीवार महेन्द्रकुमार कार्कीको अध्यक्षतामा १५ सदस्यीय प्रजातान्त्रिक विचार समाज पनि गठन गरिएको छ । समाजको उपाध्यक्षमा कर्णबहादुर थापा, सचिवमा लोकबहादुर ओली, सहसचिवमा भीमबहादुर शाही परियार र कोषाध्यक्षमा देवी भट्टराई छन्भने सदस्यहरूमा नारायणकुमार कोइराला, पदम दाहाल, नरेशसिं थापा, हरिप्रसाद शर्मा, ऐश्वर्यप्रसाद दाहाल, उत्तम आचार्य, खगेन्द्र अधिकारी, अमरबहादुर रोकाय, गजराज जोशी, र बलबहादुर ओली छन् ।

प्रकाशित मितिः   २५ भाद्र २०७३, शनिबार ०९:३०