उद्योग वाणिज्य संघ भेरीले ल्यायो, पूर्वी सुर्खेत समृद्धिको योजना
साझा बिसौनी संवाददाता
सुर्खेत, २५ भदौ ।
सुर्खेतको पूर्वी क्षेत्रका व्यवसायीहरूले गठन गरेको उद्योग वाणिज्य संघ भेरीले समृद्धिको योजना सार्वजनिक गरेको छ । संघले पूर्वी सुर्खेतको आर्थिक विकास र समृद्धिको योजना अगाडि सारेको हो । गएको चैतमा दर्ता भएको उक्त संघले आफ्नो प्रथम साधारणसभाको अवसरमा समृद्धिको योजना सार्वजनिक गरेको हो ।
जिल्लाको क्षेत्र नम्मर १ अन्तर्गतका व्यवसायीहरूले दर्ता गरेको उद्योग वाणिज्य संघ भेरीको प्रथम साधारणसभा शनिवार छिन्चुमा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा संघले पूर्वी क्षेत्रका व्यवसायीहरूको क्षमता विकास र समृद्धिको नयाँ खाका अगाडि सारेको हो । साधारणसभामा संघका अध्यक्ष रत्नबहादुर अधिकारीले समृद्ध पूर्वी सुर्खेतको योजना प्रस्ताव गरेका थिए ।
संघले पूर्वी सुर्खेतको विकास र समृद्धिका लागि रामघाटमा तत्काल क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पहल गर्ने भएको छ । यस्तै पर्यटकीय स्थल गुर्भाकोटमा रहेको ऐतिहासिक दरबारको भग्नावशेषको संरक्षण गर्ने, बोटेचौरदेखि गुर्भाकोटसम्म केबुलकार सञ्चालन, हर्रेमा रहेको चमेरे गुफाको प्रवद्र्धन र भोटेचुलीबाट डुमकोटसम्म प्याराग्लाइडिङ्ग सञ्चालनका लागि आवश्यक पहल गर्ने संघले जानकारी दिएको छ । आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महŒवपूर्ण रहेको भन्दै संघले प्रदेश नम्बर ६ का लागि आयल निगमको भण्डार गृह, भेरीगंगा नगरपालिकाको मदानीचौरमा निर्माण गर्नका लागि पहल गर्ने भएको छ । यस्तै अन्तर्राष्ट्रिय लगानीकर्ता आकर्षित गरेर पूर्वी क्षेत्रमा लगानीको वातावरण बनाउने संघको तयारी छ ।
साधारणसभामा संघका अध्यक्ष अधिकारीले भने, ‘यस क्षेत्रमा एउटा औद्योगिक ग्राम स्थापनाको तयारी हुँदैछ, भेरी करिडोरको निर्माण र स्मार्ट सीटीको काम अगाडि बढाउन हामीले दबाब दिनेछौं ।’ उनले छिन्चु, रामघाट, जहरे, मेहेलकुना र बोटेचौरमा सडकमा सोलार बत्ती जडानको योजना समेत सुनाए । यसका लागि संघले पहल थाल्ने उनको भनाइ छ । उनका अनुसार संघले होम स्टे सञ्चालन र कृषिमा आधुनिकीकरणको लागि सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरेर अगाडि बढ्ने छ । साधारणसभामा संघले आफ्नो कार्य क्षेत्रका व्यवसायीहरूको क्षमता विकास र व्यवसायिक सीपको लागि काम गर्ने प्रतिबद्धता जनाएको छ । सो अवसरमा सांसद लालबहादुर घलेले व्यवसायीहरूलाई सामाजिक विकासको
क्षेत्रमा पनि नेतृत्वदायी भूमिका खेल्न आग्रह गरे । साधारणसभामा संघका सचिव सोमराज ढकालले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै कोषाध्यक्ष पूर्णबहादुर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा त्यस क्षेत्रका राजनीतिक दल, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूले संघलाई सफलताको शुभकामना दिएका थिए ।
यसैबीच साधारणसभाले रत्नबहादुर अधिकारीको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा बिर्खबहादुर सार्की, उपाध्यक्षमा मेघराज ढकाल र जयबहादुर डाँगी, महासचिवमा नरबहादुर बिसी, सचिवमा सोमराज ढकाल र कोषाध्यक्षमा पूर्णबहादुर खत्री चयन भएका छन् ।
साझा बिसौनी संवाददाता ।