किट नहुँदा कोरोना परीक्षण प्रभावित, पिसिआर मेसिन थन्किए
सुर्खेतः कर्णाली प्रदेशमा किट अभावका कारण कोरोना भाइरस (कोभिड १९) को परीक्षण प्रभावित बनेको छ । थ्रोट स्वाबको नमुना संकलन र प्रोसेसिङ गर्ने सामान सकिएपछि केही दिन पहिले जडान गरिएका आरटी पिसिआर मेसिन थन्किएका छन् ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको आरटी पिसिआर मेसिन किट अभावका कारण सुचारु हुन सकेको छैन । गत मंगलवार प्रतिष्ठानले कोभिड–१९ को परीक्षण गर्नको लागि आरटी पिसिआर मेसिन जडान गरेको थियो । प्रतिष्ठानका निर्देशक मंगल रावलले किट नहुँदा परीक्षण सुरु गर्न नसकिएको बताए । जुम्लामै पिसिआर विधिबाट परीक्षण गर्न प्रतिष्ठानले २७ लाखमा आरटी पिसिआर मेसिन खरिद गरेको हो । प्रयोगशाला सुचारु नहुँदा अहिले जुम्लामा कोरोना शंकास्पद व्यक्तिहरूको सुरुमा ¥यापिड टेस्ट गर्ने र थप शंकास्पद भए पिसिआर जाँचको लागि सुर्खेत पठाउने गरिएको छ ।
प्रदेश अस्पताल सुर्खेतमा पनि किट अभावका कारण परीक्षण प्रभावित भएको छ । प्रयोगशालासँग तीन सय वटा मात्र नमूनाको परीक्षण गर्न मिल्ने किट बाँकी रहेको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले जानकारी दिए । सरकारले सुर्खेतमा चीनबाट ल्याएको पोर्टेबल पिसिआर मेसिन पनि दिएको छ । नयाँ आरटी पिसिआर मेसिन जडान भएपछि उक्त मेसिन भने थन्किएको छ । प्रयोगशालाले आरटी पिसिआर मेसिनबाटै परीक्षण गरिरहेको छ । दैनिक १२ वटा परीक्षण पनि गर्न मुस्किल परेपछि चीनबाट ल्याइएका यस्ता पाँचवटा मेसिन थन्किएका छन् । सरकारले झन्डै १ करोड बढी रुपैयाँ खर्चेर पाँचवटा पोर्टेबल पिसिआर मेसिन ल्याएको थियो ।
प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएका नयाँ आरटी पिसिआर मेसिनले एक पटकमा ९६ वटाको दरले स्वाबको नमुना प्रोसेसिङ गर्न सक्छन् । यसका लागि आवश्यक मात्रामा स्वाब संकलन गर्नुपर्ने हुन्छ । तर प्रदेशमा स्वाब संकलन गरेर प्रयोगशालामा ल्याउन आवश्यक पर्ने भीटीएम (भाइरस ट्रान्सफर मिडिया) र संकलित स्वाब परीक्षण गर्ने पीसीआर प्रोसेसिङ किट सकिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशक रीता भण्डारीले एक साताअघि नै किट माग गरिए पनि अहिलेसम्म नआएको बताइन् । उनका अनुसार कर्णालीका लागि थप एक–एक हजार सेट भीटीएम र प्रोसेसिङ किट माग गरिएको छ । प्रदेशमा पछिल्लो साता हजारौंको संख्यामा मान्छेहरू भित्रिएकाले आरडीटी र पीसीआर परीक्षणको संख्या बढाउनुपर्ने उनले बताइन् । कर्णालीमा हालसम्म करिब ५ हजार जनाको आरडीटी र ९ सय २६ जनाको पीसीआर परीक्षण भएको छ ।
प्रकाशित मितिः १९ बैशाख २०७७, शुक्रबार १५:२९
साझा बिसौनी ।