खुल्यो डिपार्टमेन्टल स्टोर

साझा बिसौनी संवाददाता
सुर्खेत, १३ चैत ।
सुर्खेतमा करिब एक करोडको लागत डिपार्टमेन्टल स्टोर स्थापना गरिएको छ । वीरेन्द्रनगरका युवा व्यवसायी सुरेन्द्र भारतीले सेन्ट्रल डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याएका हुन् । एक कार्यक्रमको आयोजना गरी शनिवार त्यसको औपचारिक उद्घाटन गरिएको हो ।
मध्यपश्चिम क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही र सञ्चालक भारतीका ८० वर्षीय बुवा जनकदेव भारतीले संयुक्तरूपमा रिवन काटेर स्टोरको उद्घाटन गरेका छन् । लक्ष्मीहल लाइनमा रहेको यो स्टोरमा अत्यावश्यकीय स्वदेशी र विदेशी सामानहरू अब एकै स्थानमा पाउन सकिनेछ । सञ्चालक भारतीले अब एकै स्थानबाट सहज र सुलभ रूपमा दैनिक उपभोग्य वस्तु, बच्चाहरूका लागि खेलौना र अन्य सामानहरू प्राप्त गर्न सकिने बताए ।
करिब तीन महिनाको अवधिमा आफूले स्टोर सञ्चालनमा ल्याएको जानकारी समेत उनले दिए । उनका अनुसार चैत महिनाभरी स्टोरबाट हरेक सामान खरिद गर्दा पाँच प्रतिशत सहुलियत दिइनेछ । स्टोरको उद्घाटन गर्दै मध्यपश्चिम क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले उपभोक्ताले अब एकै स्थानमा सबै सामान पाउने बताए । साथै उनले जिल्लामा सुरु भएको व्यवसायमा नयाँ अवधारणाले आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरे ।
प्रकाशित मितिः   १४ चैत्र २०७२, आईतवार ०६:१५