प्रदेश सरकारले माग्यो वार्षिक नीति तथा कार्यक्रमका लागि सुझाव

सुर्खेतः कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २0७७/७८ को वार्षिक नीति तथा कार्यक्रमका लागि सुझाव संकलन थालेको छ । सरकारले नीति तथा कार्यक्रम तर्जुमा गर्न सुरु गरिसकेकाले सुझाव दिन आग्रह गरेको हो । आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयका सम्बन्धमा सुझाव दिन सबैलाई आग्रह गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यायका प्रवक्ता केशवप्रसाद उपाध्यायले जानकारी दिए ।

विभिन्न संघ–संस्था, वुद्धिजिवि, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारमाध्यम र सम्पूर्ण आम नागरिलाई यही वैशाख २५ गतेभित्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सुझाव उपलब्ध गराउन आग्रह गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अहिले लकडाउन भएको र प्रदेशले आन्तरिक रुपमा कार्यक्रमको तयारी गरिररहेकाले सबैसँग सुझाव मागिएको उपाध्यायले बताए । सबै मन्त्रालयलाई नीति तथा कार्यक्रम तर्जुमा गर्नका लागि निर्देशन दिइसकिएको र मन्त्रालयले कार्यालय स्तरसम्म छलफल गरेर पठाउँदै गरेको जानकारी दिए । प्रदेश योजना आयोगले पनि सोही अनुसार तयारी गरिरहेको उनले जनाए ।

कोरोनाको प्रभावका कारण अर्थतन्त्रमा असर गरेकाले अहिलेको अवस्थामा कस्तो नीति तथा कार्यक्रम ल्याउँदा प्रभावकारी हुन्छ भन्नेबारे सुझाव दिन उनले आग्रह गरे । ‘बेरोजगारी र खाद्यान्न अभाव जस्ता समस्या देखिएका छन्,’ उनले भने, विदेश गएका नागरिक फर्कने क्रम बढेको छ । त्यसैले के–कस्ता कार्यक्रम चाहिन्छ भनेर आम नागरिकलाई सूचना गरेका हौं । सुझाव मागेका छौं ।’ अहिलेको अवस्था हेरेर आगामी बजेटको प्राथमिकता परिवर्तन हुनसक्ने बताए । नीति तथा कार्यक्रममा दिइने सुझाव मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको इमेल [email protected]  मा पठाउन अनुरोध गरिएको छ ।

प्रकाशित मितिः   १८ बैशाख २०७७, बिहीबार २०:१४