कर्णालीको बजेट अधिवेशन कहिले ?
सुर्खेतः कर्णाली प्रदेशसभाको वर्षे अर्थात बजेट अधिवेशन बोलाउने तयारी भएको छैन । सभामुख राजबहादुर शाहीले बजेट अधिवेशन कहिले सुरु गर्ने भन्नेबारे सरकारसँग सल्लाह भइनसकेको बताए । ‘अहिले सरकारसँग यस विषयमा छलफल भइसकेको छैन,’ उनले भने, ‘बजेट अधिवेशन जेठको पहिलो सातासम्म बसिसक्नु पर्छ ।’ आगामी वर्षका लागि प्रि–बजेट छलफल गर्नुपर्ने भएकाले जेठको पहिलो साता नै बजेट अधिवेशन सुरु गर्नुपर्ने उनले बताए ।
सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ । प्रदेश सरकारले संसद अधिवेशन कहिलेका लागि बोलाउने भन्ने तय नगरिसकेको भए पनि जेठ पहिलो सातासम्म अधिवेशन सुरु गरिसक्नुपर्ने हुन्छ । प्रदेश सरकारले अहिले नीति तथा कार्यक्रम र बजेट तयारी गरिरहेको जनाएको छ । प्रदेशहरुले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
कोरोना संक्रमण फैलन नदिन गरिएको लकडाउनका कारण प्रदेशसभाको हिउँदे अधिवेशन प्रभावित भएको थियो । चालू पाँचौ अधिवेशन पुरा नहुँदै बैठक बस्न नसक्ने भए पछि वैशाख ५ गते अधिवेशन अन्त्य गरिएको थियो ।
प्रकाशित मितिः १८ बैशाख २०७७, बिहीबार १९:३३
साझा बिसौनी ।