रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेतः रौतहटका दुई युवकमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित एक जना बृन्दावन नगरपालिकाका २४ वर्षीय युवक हुन् । उनी गत चैत २२ गते भारतको कलकत्ताबाट आएका थिए । नगरपालिकाका मेयर रामस्नेही राय यादवका अनुसार युवकको जनकपुरमा रहेको पिसिआर मेसिनमा नेगेटिभ रिपार्ट आएको र काठमाडौंमा गरिएको परीक्षणमा नतिजा पोजेटिभ देखिएको हो ।

अर्का संक्रमित देवाही गोनाही नगरपालिका–१ निवासी ३५ वर्षीय पुरुष हुन् । उनी पनि वैशाख ४ गते दिल्लीबाट आएका थिए । उनी भने अहिले पनि क्वारेन्टाइनमै रहेको बताइएको छ । दुबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । जसमा १६ जना निको भएका छन् ।