जुम्लामा लकडाउन उल्लंघन
जुम्लाः जुम्लामा लकडाउन उल्लंघन हुँदै गएको छ । देशभर लकडाउन घोषणा गर्नुभन्दा दुई दिनअघि (चैत ९ गते) नै जिल्लालाई लक गरिएको भए पनि पछिल्लो एक सातायता जिल्ला प्रशासन र स्थानीय तहहरुबीच समन्वय नहुँदा लकडाउन खुकुलो भएको हो ।
जिल्लामा सरोकारवाला निकायले एक अर्काबीच समन्वय नगर्दा कोरोना संक्रमण फैलने त्रास बढेको छ । प्रशासन र स्थानीय तहबीच आपसमा समन्वयको अभावले संक्रमणको त्रास बढाएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए । ‘प्रशासन र स्थानीय तहबीच जुँगाको लडाई छ,’ उनले भने, ‘एक अर्कालाई नटेर्ने प्रवृत्ति देखिएको छ ।’ स्थानीय तहहरुले बाहिरबाट मनोमानी रुपमा आफ्ना नागरिक जिल्ला भित्राउने र लकडाउनलाई प्रभावित पार्ने गरी बजार खुलाउने निर्णय गर्दा समस्या उत्पन्न भएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । प्रजिअ बन्जाडे भन्छिन्, ‘सुरुदेखि नै सीमा नाका प्रवेशमा कडाइका साथै बजारमा आवतजावत नियन्त्रण गरिए पनि पछिल्लो एक सातायता मान्छेहरु रातारात गाउँ पस्न थालेपछि प्रशासनलाई चुनौति थपिएको छ ।’ स्थानीय तहले उद्धार गरी ल्याएका व्यक्तिहरु क्वारेन्टाइनमा पनि बस्न नमान्ने गरेको उनले बताइन् । ‘यसले हामीलाई चिन्तित बनाएको छ,’ प्रजिअ बन्जाडेले भनिन् ।
गएको शुक्रवार चन्दननाथ नगरपालिकाले लकडाउनको तालिका विपरीत बिहान ७ बजेदेखि ११ बजेसम्म बजार खुलाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार शनिवार र आइतवार खलंगा बजार पूर्णरुपमा खुलेको थियो । नगरपालिकाको यस्तो निर्णयले लकडाउन खुकुलो भएको प्रशासनको भनाइ छ । चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले भने स्थानीय तहले आफ्नो क्षेत्रभित्रका लागि निर्णय गर्न सक्ने भएकाले निश्चित समय तोकेर बजार खुलाउने निर्णय गरिएको बताइन् । कार्यपालिकाको यस्तो निर्णयपछि बजारमा आवतजावत ह्वात्तै बढेको छ । लकडाउन उल्लंघन हुन थालेपछि स्थानीय युवाहरुले नगरपालिकाको निर्णयको विरोध जनाएका छन् ।
यसैबीच, जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले लकडाउन उल्लंघन गर्ने पाँच सय ६0 सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरेको छ । चैत ११ गतेदेखि वैशाख १५ सम्म लकडाउन उल्लंघन गरी सडकमा गुडेका सवारीबाट २१ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक विमलकुमार रावतले जानकारी दिए । लकडाउन उल्ंघन गर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक छन् । यो अवधिमा चार सय १९ वटा मोटरसाइकल कारवाहीमा परेका छन् । ५१ वटा चार पांग्रे सवारीलाई कारवाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरीकार्यालयका अनुसार लकडाउन उल्लंघन गर्ने क्रम भने अझै रोकिएको छैन ।
प्रकाशित मितिः १५ बैशाख २०७७, सोमबार १८:४१
साझा बिसौनी ।