खाद्यान्नमा महंगी बढ्यो, अनुगमन भएन

सुर्खेतः कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि खाद्य वस्तुमा महंगी बढेको छ । मंहगोमा खरिद गर्नुपरेको भन्दै यहाँका ब्यापारीहरुले पहिलेको तुलनामा हरेक खाद्य सामग्री मंहगोमा बेच्ने गरेका हुन् ।

एक बोरा चामलमा ६० देखि एक सय रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । एक केजीलाई एक सय ४० रुपैयाँ पर्ने मासको दाल एक सय ६० रुपैयाँ, एक सय ३० रुपैयाँ पर्ने मसुरोको दाल एक सय ४०, एकसय ३० रुपैयाँ पर्ने सिमीको दाल एक सय ४० रुपैयाँमा बिक्री गरिएको छ ।

लकडाउनअघि ८५ रुपैयाँ पर्ने चिनीलाई ९० रुपैयाँ, दुई सय ६० रुपैयाँ पर्ने पाँच केजी पिठोको प्याकेट अहिले दुई सय ८० मा बिक्री भइरहेको छ । लकडाउनको मौका छोपेर ब्यापारीले हरेक सामानमा मूल्य बढाएको उपभोक्ताको गुनासो छ । वीरेन्द्रनगर–३ का बिन्दु सिंहले दाल, चामल लगायतका खाद्यान्न पहिलेको तुलनामा महंगोमा किन्नु परेको बताइन् ।

स्थानीय प्रशासनले बजार अनुगमन नगर्दा ब्यापारीहरुले मनलाग्दी मूल्य बढाएका हुन् । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काले लकडाउनयता कहिलेकाहीँ मात्र बजार अनुगमन गर्ने गरेको बताए । ‘मंहगी बढेको गुनासा आएपछि हामीले उद्योग वाणिज्य संघसँग बुझेका थियौं,’ उनले भने, ‘खरिद नै मंहगो भएकाले केही रुपैयाँ बढाएको पाइयो ।’ व्यापारीहरुले खरिद मूल्यभन्दा २० प्रतिशत बढी नाफा लिएर बिक्रि गरिएको पाइए कार्वाही गरिने उनले बताए । प्रशासनले छड्के रुपमा बजार अनुगमन गरेपनि कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा लागिरहेकाले नियमित बजार अनुगमन गर्न नसकिएको उनको भनाइ छ ।

प्रकाशित मितिः   १३ बैशाख २०७७, शनिबार ०९:५७