२१ दिनदेखि दशगजाको क्वारेन्टाइनमा : आरडिटी रिपोर्ट नेगेटिभ आएपनि घर जान वञ्चित

सुर्खेत : संघीय सरकारले अनुमति नदिँदा बाँकेको दशगजामा क्वारेन्टाइनमा राखिएका एक सय ८१ जना घर जान पाएका छैनन् । उनीहरुलाई २१ दिनसम्म क्वारेन्टाइनमा राखेर कोरोना रिपोर्ट नेगेटिभ आएपनि सरकारले घर पठाउन अनुमति नदिँदा क्वारेन्टाइनमा बस्न बाध्य भएका हुन् ।

उक्त क्वारेन्टाइनमा कर्णाली प्रदेशका मात्रै ५९ जना छन् । चेकजाँच पछि उनीहरुलाई कोरोना संक्रमण नभएको पुष्टि भइसकेको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले दशगजा क्वारेन्टाइनमा देशभरीका नागरिकहरु भएकाले गृह मन्त्रालयको अनुमति पछि मात्र पठाइने बताए । ‘गृहमन्त्रालयले अहिलेलाई नपठाउन र त्यहीँ राख्न भनेको छ’, उनले भने ‘त्यसैले पठाउन नसकिएको हो । अनुमति दिन बित्तिकै उहाँहरुलाई पठाइनेछ ।’ सहायक प्रजिअ उपाध्यायका अनुसार त्यहाँ २५ जिल्लाका नागरिक छन् । उनीहरुलाई भारतको क्वारेन्टाइनमा राख्ने भनिए पनि बाँकेको स्थानीय प्रशासनले खान बस्न व्यवस्था गरेपछि दजगजामा रहेको क्वारेन्टाइनमा ल्याइएको थियो ।

एक सय ८१ मध्ये कर्णाली प्रदेशको जुम्लाका १७, सुर्खेतका १५, दैलेखका १४, सल्यानका ६, रुकुम पश्चिमका दुई, मुगुका चार र जाजरकोटका एक जना छन् । नेपालगञ्ज उप–महानगरपालिकाकी उपप्रमुख उमा थापाले क्वारेन्टाइन अवधि सकिएका नागरिकलाई प्रदेश सरकारले पहल गरेर लैजान सक्ने बताइन् ।

प्रकाशित मितिः   ११ बैशाख २०७७, बिहीबार १५:५३