कर्णालीमा लकडाउन लचिलो, सबै सरकारी कार्यालय सञ्चालन गरिने

सुर्खेत : कर्णाली प्रदेशमा लकडाउनलाई लचिलो बनाउने निर्णय गरिएको छ । बिहीवार बसेको प्रदेश विपद व्यवस्थान केन्द्रको बैठकले लकडाउन जारी रहेकै अवस्थामा प्रदेशभित्रका सबै सरकारी कार्यालय सञ्चालन, अलपत्र परेका व्यक्तिको उद्धार र कृषिकार्यको सन्दर्भमा लचिलो निर्णय लिएको हो ।

कर्मचारीलाई आवश्यक सुरक्षा प्रबन्ध मिलाएर प्रदेशभित्रका सबै सरकारी कार्यालय सञ्चालन गर्न लागिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै सुरक्षा प्रबन्धसहित तीनै तहका सरकारी कार्यालय खोल्ने निर्णय गरिएको हो । केन्द्रको बैठकले अन्यत्रबाट प्रदेशमा प्रवेश गरेका व्यक्तिलाई सिधै सम्बन्धित जिल्ला वा पालिकामा जान दिने निर्णय गरेको छ । अन्य प्रदेश वा जिल्लाले ल्याएर छाडेका, तर आफ्नो खर्चमा गन्तव्यमा पुग्न नसक्नेलाई उचित व्यवस्थापन गरी पठाउन लागिएको हो । यसरी पुगेका व्यक्तिलाई क्वारेन्टाइन, होम क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा रहने गरी सम्बन्धित जिल्ला र पालिकाले सुरक्षाको प्रवन्ध गर्नुपर्नेछ,’ बैठकको निर्णयमा भनिएको छ ।

यस्तै, बैठकले लकडाउनको अवधिमा कृषिजन्य उत्पादनको आन्तरिक बजारीकरण, ओसारपसार र बाहिरबाट ल्याउनुपर्ने उत्पादनको बारेमा ठोस योजना निर्माण गरी प्रबन्ध मिलाउन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई जिम्मा दिइएको छ । यसका लागि जिल्ला तहमा भने आवश्यक प्रबन्ध जिल्ला प्रशासन कार्यालयले गर्नेछ । सीमित जनशक्ति परिचालन गरी मेसिन तथा औजारबाट निर्माण गरिने विकास योजनाको सहजीकरण गर्न प्रदेश र जिल्ला तहलाई जिम्मा दिने निर्णय गरिएको छ ।

प्रकाशित मितिः   १२ बैशाख २०७७, शुक्रबार ११:५१