‘यो वर्ष पानीको हाहाकार हुँदैन’
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले वि.सं. २०५७ सालदेखि सुर्खेत उपत्यकामा खानेपानी आपूर्ति गर्दै आएको छ । संस्थाले हाल कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा बसोबास गर्ने झण्डै डेढ लाख जनसंख्यालाई १८ हजार ६ सय धारामार्फत दैनिक खानेपानी सेवा उपलब्ध गराइरहेको छ । विगतका वर्षहरूमा वैशाख सुरु हुँदा खानेपानीको हाहाकार भइसकेको हुन्थ्यो । तर यो पटक भने उपभोक्ताका धारामा नियमित पानी आइरहेको छ । यो कसरी सम्भव भयो ? यसै सन्दर्भमा संस्थाका अध्यक्ष कुलमणि देवकोटासँग साझा बिसौनी दैनिकले गरेको कुराकानीको सम्पादित अंशः
सुर्खेत उपत्यकामा हाल खानेपानी उपलब्धताको अवस्था के छ ?
- पानीको उपलब्धताको बारेमा हामीलाई भन्दा पनि नागरिकलाई सोध्नुपर्छ । अहिले लकडाउनको समयमा पनि हामीले नागरिकका धारामा पर्याप्त पानी दिएका छौं । स्वास्थ्य र सुरक्षाको संवेदनशीलताका बाबजुद हाम्रा कर्मचारीले नियमित काम गरिरहनु भएको छ । यो अवस्थामा पनि उपभोक्ताका धारामा नियमित पानी गएको छ । यसले गर्दा नागरिकहरूले राहत महसुस गरेको पाएका छौं । यो वर्ष विगतका वर्षजस्तो पानीको हाहाकार हुँदैन । ‘फ्लोसेडिङ’ गर्नै परे पनि त्यो ‘लेभल’मा पुग्दैन ।
विगतका वर्षहरूमा यो समयमा खानेपानीको ‘फ्लोसेडिङ’ भइसकेको हुन्थ्यो । अहिले उपभोक्ताका धारामा पानी नियमित आइरहेको छ । यो कसरी सम्भव भएको हो ?
- यस पटक हामीलाई प्रकृतिले समेत साथ दिएको छ । वर्षा नियमित हुनुले पानीका स्रोत सुकेका छैनन् । यस कारण पनि केही सहज भएको हो । नत्र यो समयमा पानी वितरण गर्न आलोपालो गरिसकिएको हुन्थ्यो । विगतका वर्षहरूमा यो समयमा ४८ घण्टासम्म ‘फ्लोसेडिङ’ गर्नुपर्ने हुन्थ्यो । यो वर्ष भने उपभोक्ताका धारामा पानी नियमित गएको छ । यस पटक संस्थाले पानीका स्रोतहरू थपेको छ । पाइपलाइनको चुहावटलाई समेत नियन्त्रण गरिएको छ । सबै नागरिक घरभित्रै हुनुहुन्छ । अर्को कुरा उद्योग र व्यवसायमा पानी खर्च भएको छैन । यसका साथै वितरण प्रणालीमा सुधार ल्याउनुका साथै भण्डारण क्षमतालाई वृद्धि गरेका कारण पनि यो वर्ष उपभोक्ताका धारामा नियमित पानी पठाउन सम्भव भएको हो ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्ध लड्न सरसफाइमा बढी ध्यान दिनुपर्छ । बारम्बार साबुन पानीले हात धोइरहनुपर्छ । अझ विश्व स्वास्थ्य संगठनले त कम्तीमा पनि २० सेकेण्ड मज्जाले हात धोइरहन सुझाव दिएको छ । यसले पानीको माग झनै बढाएको छ नि ?
- महामारीको अवस्थामा मात्रै होइन नागरिकलाई पानीको अभाव नहोस् भन्नको लागि हामीहरूले निरन्तर काम गरी राखेका छौं । सुर्खेत उपत्यका कर्णाली प्रदेशको राजधानी समेत भएकोले दिन प्रतिदिन जनघनत्व तीव्र रूपमा बढेको छ । हामीहरूले अहिले यो महामारीलाई मध्यनजर गरी पानीको वितरण प्रणालीलाई सुधार गर्दै चुहावट नियन्त्रण गर्ने प्रयास गरेका छांै । यो बाहेक पानीको दीर्घकालीन समस्या समाधानको लागि समेत संस्था लागिरहेको छ ।
उपत्यकामा खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न संस्थाले हाल के काम गरिरहेको छ ?
- संस्थाले सुर्खेत उपत्यकामा दीर्घकालीन रूपमा पानीको समस्या समाधानका लागि भेरीको पानी पम्पिङ्ग गरी उपत्यकामा ल्याउने योजना बनाएको छ । भेरीको पानी पम्पिङ्ग गरी प्रतिसेकेण्ड ३८० लिटर पानी उपत्यका ल्याउन सकेको खण्डमा उपत्यकामा पानीको समस्या हँुदैन । वीरेन्द्रनगर नगरपालिका–१५ रतुको दुन्दुरे खोलाबाट पानी ल्याउने योजना अघि बढाएका छौं । जसको क्षमता प्रतिसेकेण्ड २० लिटर छ । यसका लागि टेण्डर समेत भइसकेको छ । अबको छ महिनामा नागरिकले रतुको पानी प्रयोग गर्न पाउने छन् । यसरी तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि हामीहरू निरन्तर लागिरहेका छौं । यसको अलवा पानीको भण्डारण क्षमता बढाउने र वितरण प्रणालीलाई व्यवस्थित पनि गर्दैछौं ।
आगामी दिनमा वीरेन्द्रनगरमा पानीको समस्या थप जटिल बन्ने देखिन्छ । यहाँको खानेपानी अभाव दीर्घकालीन रूपमा टार्न भेरी नदीको पानी ल्याउने योजना बनाएको भन्नुभयो, यो योजनाको प्रगति के भएको छ ?
- हामीहरूले मेशिनबाट भेरीको पानी तान्ने भनेर ‘टेस्टवेल’को काम सुरु गरेका थियौं । तर ‘टेस्ट’ गर्ने क्रममा मेशिन दलदलमा फस्यो । यो वर्ष नै टेण्डर हुने भनिएको काम मेशिन दलदलमा फसेका कारण रोकिएको छ । यो वर्षभित्र उक्त आयोजना टेण्डर गर्ने गरी काम गरिरहेका छौं । विश्वभरी नै कोरोनाको महामारी छ । यसले प्रभाव नपारेको खण्डमा हामीहरू कामलाई अगाडि बढाउँछौं । अबको तीन वर्षभित्रमा सुर्खेत उपत्यकाका नागरिकले भेरीको पानी उपभोग गर्न पाउनेछन् । हामीहरूले नागरिकलाई धारा मात्र होइन पर्याप्त पानी समेत दिने छौं । संस्थाले उपत्यकामा ‘ड्रोन’मार्फत सर्भे गरी आधुनिक प्रविधिबाट पानी वितरण गर्ने योजना समेत बनाएको छ ।
साझा बिसौनी ।